काठमाडौं, माघ ३० गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ५४ वर्षीय लिलबहादुर राई र काठमाडौं महानगरपलिका–२३ वसन्तपुर बस्ने ३७ वर्षीय विशाल श्रेष्ठ छन् ।
पक्राउमध्ये लिलबहादुरले मलेसिया पठाइदिछु भन्दै दुई जना पीडितहरूबाट दुई लाख रूपियाँ र विशालले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख ५० हजार रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लिलबहादुरलाई काठमाडौं बत्तीसपुतलीबाट र विशाललाई काठमाडौं टेकुबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।