• ३० माघ २०८१, बुधबार

गोरखापत्र समाचार प्रभाव:

भीम थापाले पाए नागरिकता

blog

नेपाली नागरिकता प्राप्त गरेपछि भीम थापा । तस्बिर: गोकर्ण

बैतडी, माघ ३० गते । बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा भीमबहादुर थापाले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । ‘सतचालिस वर्षदेखि आफन्त खोज्दै भीमबहादुर’ शीर्षकमा थापाका विषयमा २०८० फागुन २४ गतेको गोरखापत्रमा समाचार प्रकाशित भएको थियो ।  

समाचार प्रकाशित हुनेबित्तिकै तत्कालीन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले थापालाई बोलाएर आफन्तका बारेका सोधखोज गर्नुभएको थियो ।  लामो सयसम्म मातृत्व र पितृत्वको ठेगाना पत्ता लाग्न नसकेपछि थापालाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले नेपाल नागरिकता ऐन २०६३ अनुसार मातृत्व र पितृत्वको ठेगाना नभएको उल्लेख गर्दै वंशजका आधारमा नागरिकता दिएको हो । 

नागरिकता नहुँदा स्वास्थ्य बिमा लगायतका सेवा सुविधाबाट वञ्चित थापाले नागरिकता पाएपछि आमा बुवा पाए जस्तै लागेको बताउनुभयो । उहाँले,मजदुरको पीडा पनि सरकारले सुनेको बताउनुभयो । आफन्त नमिले पनि नागरिकता मिलेकोमा भने खुसी लागेको उहाँको भनाइ छ । 

दशरथ चन्द नगरपालिका–४, कठपतेका स्थानीय नारद पाण्डेयको संरक्षण रहने गरि थापालाई नेपाली नागरिकताको प्रमाण पत्र दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत पवनकुमार शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ भीम थापाले पाँच-छ महिना अधि नै नागरिकताका लागि निवेदन दिनुभएको रहेछ । उहाँको बारेमा सबै कुरा बुझेर नेपाल नागरिकता ऐन २०६३ अनुसार नागरिकता दिएका हौँ । नेपाल सरहद भित्र जन्मेर आमा, बुवा र पितृत्वको ठेगाना नभएकाले पनि नेपाली नागरिकता पाउने व्यवस्था अनुसार वडाको सिफारिसमा थापालाई नागरिकता दिएका हौँ ।”

२०३३ सालमा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी कठपते आएका आफन्तसँग सडकमै विछोड भएको भीमबहादुर थापाले बताउनुभयो । दाङ जिल्ला घर बताउनुहुने भीमबहादुर थापा बाल्यकालमै सडकमा छुटेकाले आमा बुवाको नाम ठेगाना थाहा नभएको बताउनुभयो । नागरिकता प्रमाण पत्र देखाउँदै भीम थापाले आफन्तले छाडेर गएको सडक किनारकै स्थानीयको घरमा ४८ वर्षदेखि आश्रय लिएर बसिरहेको बताउनुभयो । 

आमा बुवासँग विछोड हुँदाको पीडा सुनाउँदै उहाँले भन्नुभयो,“ आमाको अनुहार थाहा छैन । सायद म सानै छँदा बित्नुभयो कि ? बुवासहितका नातेदारसँग बैतडी पुगेको याद छ । सडक खन्ने काम सकेर आफन्त फर्केको भन्छन् । मलाई किन यतै छाडेर जानुभयो ? केही थाहा छैन । ”

Author

गोकर्ण दयाल