• २९ माघ २०८१, मङ्गलबार

‘फोर नेसन्स कप’ को तयारी अन्तिम चरणमा

blog

प्रतियोगिताको तयारी बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, माघ २९ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा फागुन ४ देखि १५ गतेसम्म घरेलु मैदान दशरथ रङ्गशालामा हुने ‘फोर नेसन्स कप’ को  तयारी अन्तिम चरणमा पुगेको छ । एन्फाले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे जानकारी दिएको हो । 

प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन् । चार देशसम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गर्न लागेको एन्फाले टिकेटिङ राइट एक करोड ३५ लाख र ब्रोडकास्टिङ राइट ६६ लाख रुपियाँमा बिक्री गरेको छ । 

एन्फाले टिकटिङ पार्टनरको रुपमा अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीलाई जिम्मा दिएको जनाएको छ । 

प्रतियोगिताको टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार रुपियाँ तोकिएको छ । सहभागी टोलीहरु शुक्रबारसम्म काठमाडौँ आइपुग्ने बताईएको छ । प्रतियोगिता सम्पन्न गर्न दुई करोड ५० लाख ७६ हजार रुपियाँ लगानी हुने एन्फाले जनाएको छ । 

प्रतियोगिताको तालिका अनुसार नेपालले पहिलो खेल फागुन ५ गते किर्गिस्तानसँग खेल्नेछ । नेपालको  दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग परेको छ ।

लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ को छनोटको तयारीको रूपमा लिएको छ ।