• २९ माघ २०८१, मङ्गलबार

ब्ल्याक बुल्स आहा–राराको सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), माघ २९ गते । पोखरामा जारी २४औँ संस्करणको आहारारा पोखरा गोल्ड कपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा मङ्गलबार भएको खेलमा ब्ल्याक बुल्सले थन्डर बोल्ट नर्थ युनाइटेड भारतलाई ३–० गोलले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो । 

ब्ल्याक बुल्सको जितमा स्लोमजोन, दाभलाट्जोनभ, साट्टोरोभले एक/एक गोलको योगदान दिनुभयो । खेलको ३८औँ मिनेटमा साट्टोरोभले दिएको पासलाई स्लोमजोनले वान भर्सेस वानको अवस्थामा प्रहार गर्दा पोस्टमा छिरेको थियो । 

खेलको ७३औँ मिनेटमा साट्टोरोभको पासलाई दामलाट्जोनभले गोलमा परिणत गर्नुभयो । ७५औँ मिनेटमा दामलाट्जोनभले डिबक्समा मिलाइदिएको पासलाई साट्टोरोभले पोस्ट प्रहार गर्दा बलले जाली चुम्यो । ब्ल्याक बुल्सले फाइनल यात्राका लागि थ्रीस्टार क्लबसँग प्रतिष्पर्धा गर्नेछ । खेलमा ब्ल्याक बुल्सका एलिजोनभ म्यान अफ दि म्याच घोषित हुनुभयो । 

मङ्लबारको खेलमा नर्थ युनाइटेडले राम्रो मुभ निकाल्न सकेन । खेलको ८५औँ मिनेटमा करण राईले प्रहरा गरेको हेड बललाई विपक्षी किपर राजाबोभले बचाउनुभयो । नर्थ युनाइटेडका प्रशिक्षक सोनम भुटियाले खेलाडीबिच तालमेल नहुँदा गोल हुन नसकेको बताउँदै विपक्षी टोलीले राम्रो खेलको बताउनुभयो । 

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले विपक्षी भन्दा आफ्ना खेलाडीले राम्रो खेलेको बताउँदै आगामी खेल पनि उत्कृष्ट बनाउने गरी रणनीति तय गर्ने बताउनुभयो । विदेशी टोली ब्ल्याक बुल्सको खेल यो संस्करणमा आहा रारामा सहभागी टिम मध्येकै राम्रो भएको दर्शकको प्रतिक्रिया थियो । 

बुधबार २५०औँ खेल

आहा-रारा पोखरा गोल्ड कपमा भोलि पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्चा ब्वाइज क्लबबिच हुनेछ । आहा राराको यो २५०औँ खेल हो । मोफसलमा आयोजना हुने प्रतियोगितामा २५० औँ खेल पुगेको यो पहिलो हो ।

नेपाल पुलिस क्लबले सहारा क्लब र बिग्रेड ब्वाइज क्लबलाई पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको हो भने चर्च ब्बाइजले एनआरटी र त्रिभुवन आर्मी क्लबलाई पराजित गरी सेमिमा पुगेको हो ।