• २९ माघ २०८१, मङ्गलबार

गरिब विद्यार्थीको अभिभावक बन्दै उपप्रमुख

blog

शुल्क तिरेर विद्यार्थीलाई सर्टिफिकेट हस्तान्तरण गर्नुहुँदै उपप्रमुख कौशिला चन्द । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, माघ २९ गते । कृषि प्राविधिक विषय पढेर उत्तीर्ण भएकी निशा दमाईले ६० हजार शुल्क तिर्न नसक्दा रोकिएको सर्टिफिकेट चार वर्षपछि प्राप्त गर्नुभयो ।  निशाले विद्यालयमा तिर्नुपर्ने शुल्क दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले तिरिदिएपछि सर्टिफिकेट हात पार्नुभएको हो । 

दशरथचन्द नगरपालिका –८, त्रिपुरा घर भएकी एकल महिला हिरा दमाईले ज्याला मजदुरी गरेर छोरी निशालाई कृषि प्राविधिक विषय पढाउने अठोट गर्नुभएको थियो । छोरी भर्ना गरेकै बेला कोरोना आएपछि ज्याला मजदुरीको काम पाइन छाड्यो । बिदाको दिन आमासँगै काम गरेर छाक टार्नुपर्ने बाध्यताबिच पनि निशाले ८६.६१ प्रतिशत नतिजा ल्याउनुभयो ।    

दशरथचन्द नगरपालिका –१०, बाराकोटस्थित कृषि प्राविधिक विषयको पढाइ हुने दानेश्वर माविबाट कृषि जेटिए पढेर पास हुुनुभएकी निशा दमाईले विद्यालयमा ६० हजार शुल्क तिर्न नसक्दा सर्टिफिकेट रोकिएको थियो । दशरथचन्द नगरपालिका उपप्रमुखले सोमबार विद्यालयको खातामा रकम जम्मा गरिदिएपछि निशाले सर्टिफिकेट पाउनुभयो ।       

उपप्रमुख चन्दले आफूले पाउने सेवा सुविधाको रकमले निशा दमाईसँगै पाँच जना गरिब र दलित विद्यार्थीको शुल्क तिरेर सर्टिफिकेट उपलब्ध गराएको बताउनुभयो । उहाँको जस्तै शुल्क तिर्न नसक्दा समस्यामा परेका अन्य छात्रा सपना दमाई, ज्योति थापा, दिपा रावल र रविना थापाको पनि उपप्रमुखले शुल्क तिरिदिनुभयो । 

छोरीको भविश्य निर्माणका लागि उपप्रमुखले ठुलो गुन लगाउनुभएको निशाकी आमा एकल महिला हिरा दमाईले बताउनुभयो । सर्टिफिकेट प्राप्त गरेपछि लोकसेवाको तयारी गर्ने निशाको लक्ष्य छ । उहाँको परिवार ज्याला मजदुरी गरेर छाक टार्दै आएको छ ।   

उपप्रमुखले पाँच जना विद्यार्थीको शुल्क विद्यालयको खातामा जम्मा गरेपछि सोमबार विद्यार्थी र अभिभावक बोलाएर सर्टिफिकेट हस्तान्तरण गरिएको दानेश्वर माविका प्रधानाध्यापक हर्कसिंह बिष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अघिल्लो नगर सरकारले शुल्क तिरिदिने सर्तमा विद्यार्थी भर्ना भएका हुन् । स्थानीय तहको दोस्रो निर्वाचनपछि सरकार परिवर्तन भएसँगै कार्यविधि नबनेको भन्दै नगरपालिकाले शुल्क दिन मानेन । उपप्रमुखले आफूले पाउने मासिक सुविधाको रकमबाट शुल्क बिुझाएपछि कार्यक्रम आयोजनागरी सर्टिफिकेट वितरण गरेका हौं ।”

विद्यार्थीको शुल्क नगरपालिकाले तिरिदिनु पर्ने भन्दै शिक्षक पटक–पटक नगरपालिका धाउने गरेको उपप्रमुख कौशिला चन्दले बताउनुभयो । समस्या बुझ्दै जाँदा अत्यन्तै गरिब घरपरिवारका विद्यार्थी भएको बताउनुभयो ।  

उहाँले भन्नुभयो,“ विद्यार्थीको शुल्क तिर्ने नगरपालिकामा कार्यविधि नभएकाले रकम दिन पनि गाह्रो भयो । मैले पाउने सेवा सुविधाबाट प्राविधिक शिक्षा पढ्ने विद्यार्थीका लागि खर्च गर्न कोष बनाएकाले त्यही कोषबाट शुल्क तिरेकी हुँ ।” 

दानेश्वर माध्यमिक विद्यालयले २०७५ सालदेखि निजी स्रोतका शिक्षक राखेर १८ महिने कृषि प्राविधिक विषयको पढाइ सुरु गरेको थियो । सुरुको शैक्षिकसत्रमा  ६० हजार, दोस्रोमा ४०, तेस्रोमा ३० र  अहिले एक जना शिक्षकको तलब नगरपालिकाले दिन थालेपछि १८ महिनाको १५ हजार शुल्क लिने गरेको प्राविधिक शिक्षक रमेशचन्द्र भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले त विद्यार्थी सङ्ख्या घटेर आठ जना मात्र अध्ययनरत छन् । सुरुको शैक्षिकसत्रमा ३६ जना थिए । त्यसपछि घट्दै दोस्रो शैक्षिकसत्रमा २४, तेस्रोमा २१, चौथोमा २२, पाँचौंमा २१ र अहिले छैटौं शैक्षित्रसत्रमा जम्मा आठ जना मात्र विद्यार्थी अध्ययनरत छन् ।” 

पाँच वटा शैक्षिक सत्रसम्म विद्यार्थी सङ्ख्या राम्रो भएकाले प्रदेश सरकारबाट १० लाख रुपियाँ अनुदान पाउँदा शुल्क घटाउँदै ल्याएकोमा अहिले विद्यार्थी सङ्ख्या घट्दा अनुदान बन्द भएको उहाँले बताउनुभयो । दशरथचन्द नगरपालिकाले एक जना प्राविधि शिक्षकको मासिक २५ हजार तलब दिन थालेपछि थोरै सहज भएको उहाँले बताउनुभयो । 

दानेश्वर माविबाट कृषि प्राविधिक विषय पढेका विद्यार्थी अहिले विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्र, मकै जोनलगायतका कार्यालयमा करारमा काम गरिरहेको विद्यालयका शिक्षकले बताएका छन् । कृषि प्राविधि विषय पढेका विद्यार्थी कोही पनि बेरोजगार नबसेको प्राधानाध्यापक हर्कसिंह बिष्टले बताउनुभयो ।