• २९ माघ २०८१, मङ्गलबार

जलेर महिलाको मृत्यु

blog

गोकर्ण पौडेल 

तुलसीपुर, माघ २९ गते । खाना पकाउने क्रममा कपडामा सल्किएको आगोले जलेर एक जनाको मृत्यु भएको छ । आगलागीबाट तुलसीपुर उपमहानगरपालिका १० सक्राम निवासी ६४ वर्षीया श्वरी वलीको जलेर मृत्यु भएको हो  । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाका अनुसार गत माघ २१ गते बिहान करिब ७ बजेतिर घरमै खाना पकाउने क्रममा वलीले लगाएको कपडामा आगो सल्किँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । आगलागी हुँदा वलीको पेटदेखि घुँडासम्मको भाग जलेको थियो । 

घटना लगत्तै तुलसीपुरस्थित चिनारी अस्पतालमा सामान्य उपचारपछि उहाँलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएकोमा  त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको थियो । तर काठमाडौंमा पनि उपचार सम्भव नभएपछि काठमाडौंबाट सोमबार (माघ २८) दाङ फर्काइएको थियो । 

दाङ ल्याएपछि वलीलाई फेरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । वलीको आज बिहान ७ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ ।