गुल्मी समाचारदाता
गुल्मी, माघ २९ गते । नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा गुल्मीले वार्षिक करिब ३४ हजार नागरिकको आँखा उपचार र पाँच सयभन्दा बढीको शल्यक्रिया गरेको पाइएको छ ।
२०४९ सालमा स्थापना भएको यस शाखाले गुल्मीसँगै छिमेकी जिल्लाका आँखाका रोगीलाई सेवा प्रदान गर्दै आएको छ । यस शाखा अन्तर्गत जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गरी गुल्मीमा छ वटा आँखा उपचार केन्द्र सञ्चालित छन् ।
नेपालको अन्धोपन निवारण र आँखा उपचार सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन शाखाले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गर्दै आएको छ । सेभा फाउन्डेसन, डाक नेपाललगायतका अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा नेपाल नेत्रज्योति सङ्घको केन्द्रीय र प्रदेश समिति एवं लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्रको मार्गनिर्देशनबमोजिम गुणस्तरीय सेवा प्रदान गरिएको नेपाल नेत्रज्योति सङ्घ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेयले बताउनुभयो ।
जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रमार्फत गत वर्ष १३ हजार ४० जनालाई ओपिडी सेवा र ३९ जनाको माइनर अपरेसन गरिएको छ । प्रत्येक महिना ११ र १२ गते हुने मासिक आँखा अपरेसन सेवा ३०६ जनालाई प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ ।