गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २९ गते । नेपाली श्रमिकका लागि १४९ वटा देश खुला गरिएको छ तर श्रम सम्झौता भने १० वटा देशसँग मात्रै भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार देशसँग श्रम सम्झौताको मसौदालाई टुङ्गो लगाएको छ ।
पाँच देशसँगको मसौदा आदानप्रदान गरिएको छ । श्रम मन्त्रालयले साउदी अरब, मलेसिया, कतार र ओमानको मसौदा आदानप्रदानको काम टुङ्गो लागेको जनाएको छ । मन्त्रालयका अनुसार चार वटै देशका सरकारलाई मसौदा पठाइसकेको र हस्ताक्षर हुन बाँकी रहेको जनाएको छ । साउदी अरबसँग श्रम सम्झौता टुङ्गो भर्खर लागेको छ ।
गत साता साउदी अरबको भ्रमण फर्किएलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले साउदी अरबसँगको श्रम सम्झौताका लागि नेपाल र साउदीका अधिकारीले बनाएको मसौदामा सहमति भएको जानकारी दिनुभयो । उहाँका अनुसार साउदीमा नेपाली श्रमिकले भोग्नु परेका समस्याको समाधानका लागि पनि छिट्टै श्रम सम्झौता गर्नु पर्छ भनेका छौँ । यस विषयमा साउदी सरकार सकारात्मक छ ।
साउदीले घरेलु महिला श्रमिकसँगै २९ क्षेत्रमा नेपाली श्रमिक लैजाने प्रस्ताव गरेको छ । दुवै देशले कानुनी प्रक्रिया पूरा गरेपछि सम्झौतामा हस्ताक्षर गर्ने मिति टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ ।
त्यसो त गत माघ अन्तिम साता संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित आबुधाबी डाइलगको साइड लाइन बैठकमा श्रममन्त्री भण्डारी र साउदी समकक्षीबिचको वार्तामा श्रम सम्झौतालाई एक महिनाभित्र टुङ्ग्याउने गरी दुवै पक्षले सिधै समन्वय गर्न ‘फोकल पर्सन’ तोकेको थियो ।
साउदीले नेपालबाट घरेलु श्रमिक लैजानेमा बढी केन्द्रित भएको र नेपालले साउदीमा घरेलु श्रमिक पठाउन प्रतिबन्ध फुकुवा नगरेका कारण श्रम सम्झौता कार्य अगाडि बढ्न सकेको थिए । वैदेशिक रोजगार विभागका अनुसार साउदीमा करिब साढे तीन लाख नेपाली श्रमिक रहेका छन् । श्रम मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को ऐन अनुसार श्रम सम्झौता गर्ने तयारी भइरहेको छ ।
नेपालले श्रम सम्झौता गरेका श्रम गन्तव्य देश क्रमशः सन् २००५ कतार र सन् २०१८ मा मलेसियाले भने परिमार्जनसहित पुनः सम्झौताको टुङ्गोमा पुग्ने क्रममा छन् । त्यसबाहेक संयुक्त अरब इमिरेट्स (युएई) (२०१९), दक्षिण कोरिया (२००७), बहराइन (२००८), जापान (२०१९), इजरायल (२०२०), जोर्डन (२०१७), मोरिसस (२०१९), बेलायत (२०२२), जर्मनी (२०२३) र रोमानिया (२०२३) सँग सम्झौता भइसकेको छ । साउदीसँग नेपालले पटक पटक श्रम सम्झौताका लागि प्रयास गर्दासमेत सम्पन्न हुन सकेको छैन ।
वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले यस पटक साउदीसँगको श्रम सम्झौता हुनेमा धेरै आशावादी हुने आधार देखिएको बताउनुभयो । श्रम मन्त्रालयले पछिल्लो पटक टर्की, लेबनान, कुवेत, स्पेन, जर्मन, ब्रुनाईबिचको प्रस्तावित श्रम मसौदा टुङ्गोमा पुर्याउन पटक पटक प्रयास गरिरहेको छ ।
श्रम मन्त्रालयले सबै देशसँग गरिने श्रम सम्झौताको एउटा निश्चित मापदण्ड बनाएको र सोही मापदण्ड अनुसार मात्रै श्रमिक पठाउने गरी सम्झौता गर्ने दाबी गरेको छ ।