• २९ माघ २०८१, मङ्गलबार

जाडो बिदापछि खुल्न थाले विद्यालय

blog

मनाङको तिमाङस्थित गौरीशङ्कर आधारभूत विद्यालयका विद्यार्थी ।

यदुप्रसाद भट्ट

मनाङ, माघ २८ गते । लामो जाडो बिदापछि मनाङका विद्यालय खुल्न थालेका छन् । चामे गाउँपालिकाको शिक्षा समितिको निर्णय अनुसार लोकप्रिय मावि र गौरीशङ्कर आवि यही २५ गतेबाट खुलेको गौरीशङ्कर आविका प्रधानाध्यापक कमलजङ्ग गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “यसपालि हिउँ नपरिकनै हिउँद बित्यो । त्यै पनि जाडो भने घटेको छैन । गत वर्ष हिउँ परिरहेका सयममा पढाइएको थियो । यसपालि धुलो उड्ने स्थिति छ, खेल मैदानमा धुलो उडेको समयमा पढाउनु परिरहेको छ ।” प्रधानाध्यापक गुरुङका अनुसार गत वर्ष हिउँमै परेड खेल्दै बिहानीका प्रार्थना कक्षा सकाएका विद्यार्थीले यसपालि हिउँमाथि बसेर पढ्न परेको छैन । बिहान मजाले घाम लागेको बेलामा खुसी हुँदै पढ्न पाएका छन् । 

चामे गाउँपालिकामा सञ्चालित दुवै विद्यालय ४३ दिनको लामो जाडो बिदापछि सञ्चालन गरेको चामे गाउँपालिकाका शिक्षा शाखा प्रमुख शमशेर साउदले बताउनुभयो । साउदले विद्यार्थी तथा शिक्षक कति उपस्थित भए भन्नेबारेमा अनुगमन गरिरहेको पनि बताउनुभयो । 

त्यसै गरी नासोँ गाउँपालिकामा सञ्चालनमा रहेका विद्यालय फागुन १ गतेबाट खुल्ने प्रकाशज्योति उमाविका प्रधानाध्यापक पदमराज पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुस १५ बाट जाडो बिदा दिएका थियौँ, अब फागुन १ गते खोल्छौँ ।” मनाङ ङिस्याङ गाउँपालिकामा सञ्चालित विद्यालय पनि फागुन १ गतेबाटै सञ्चालनमा आउने भएका छन् । नार्पाभूमि गाउँपालिकामा एउटा मात्रै विद्यालय सञ्चालनमा छ । सिङ्गो गाउँपालिकामा जम्मा छ जना विद्यार्थी अध्ययनरत छन् । कहिलेदेखि विद्यालय सञ्चालन हुन्छ अझै टुङ्गो लागेको छैन ।