गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २८ गते । नेपाल व्यवस्थापन सङ्घले विभिन्न क्षेत्रमा रहेर व्यवस्थापनमा महत्वपूर्ण योगदान गरेका व्यक्तित्वलाई पुरस्कृत तथा सम्मान प्रदान गरेको छ । सङ्घको ४४ औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा व्यवसायी संस्थामा रहेर काम गरेका दुई महिला नेतृत्वलाई पुरस्कृत गरेको हो ।
सङ्घको ‘म्यानेजर अफ दी इयर अवार्ड’ बाट साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई पुरस्कृत गरेको छ भने ‘वुमन म्यानेजर रिकगनिसन अवार्ड’ बाट बोटलर्स नेपाल लिमिटेडको पब्लिक अफेयर्स कम्युटिकेसन्स र सस्टेनेबिलिटी डाइरेक्टर स्नेहा राजभण्डारी पुरस्कृत हुनुभएको छ । नेपाल व्यवस्थापन सङ्घले हरेक वर्ष व्यवस्थापनमा सफल व्यक्तित्वलाई सो पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधीकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याउँदै आएकाले श्रेष्ठलाई सम्मान गरेको सङ्घले जनाएको छ । कर्पोरेसनका अनुसार श्रेष्ठ सन् २००७ यता साल्ट ट्रेडिङको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर निरन्तर काम गरिरहनुभएको छ ।
कर्पोरेट सस्टेनेबिलिटी नियामकीय मामिला तथा लैङ्गिक समावेशीकरण तथा औद्योगिक सहकार्य र नीतिगत पैरवीका क्षेत्रमा उहाँले गर्नुभएको योगदानको कदर गर्दै राजभण्डारीलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो । सो अवसरमा सङ्घले सार्वजनिक नीति तथा प्रशासनिक सुधार एवं पैरवीका क्षेत्रमा क्रियाशील नेपाल सरकारका पूर्वमुख्य सचिव तथा सङ्घका पूर्वअध्यक्ष डा. विमल कोइरालालाई सम्मान प्रदान गरेको छ । पुरस्कृत तथा सम्मानित व्यक्तित्वलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभएको जनाइएको छ ।