काठमाडौँ, माघ २८ गते । हिमाली जीवन, पर्यावरणसँग प्रत्यक्ष सरोकार राख्ने याक र चौँरीको सङ्ख्या ठुलो परिमाणमा घट्दै छ । यो सङ्ख्या प्रत्येक १० वर्षमा ५० हजारका दरले घटिरहेको एक तथ्याङ्कले देखाएको छ । ३० वर्षअघि दुई लाखभन्दा धेरै रहेका याक र चौँरी २० वर्षअघि ५० हजारको हाराहारीमा घटेको र १० वर्षअघि एक लाख रहेको सङ्ख्या घटेर यतिबेला ६० हजारको हाराहारीमा झरेको तथ्याङ्कले देखाउँछ ।
सरकारले सञ्चालन गरेको याक आनुवंशिक स्रोत केन्द्रको प्रतिवेदनमा नेपालमा हाल ६२ हजारको हाराहारीमा याक र चौँरीको सङ्ख्या रहेको उल्लेख छ । प्रतिवेदनमा ३० वर्षअघि चौँरीको सङ्ख्या दुई लाखभन्दा धेरै रहेको र हरेक वर्ष सङ्ख्यामा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।
तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्म पाउन सकिने याक र चौँरी बहुउपयोगी जनावरको श्रेणीमा पर्छन् । दुग्धजन्य पदार्थ, उन, छाला, भल तथा भारी बोक्ने कामका लागि यो पशुलाई प्रयोग गरिने भएकाले हिमाली जीवनशैलीको अभिन्न अङ्ग मानिन्छ । विगतमा छदेखि ७० वटासम्म प्रतिगोठ पाइने चौँरीगोठ अहिले रित्ता हुन थालेको याकचौँरी कृषक महासङ्घका अध्यक्ष पाविहाङ राईले बताउनुभयो । याक र चौँरी घटेकामा धेरैले चिन्ता गरे पनि संरक्षणमा प्रभावकारी उपाय भने नखोजिएको राईले बताउनुभयो ।
ठिमाहा प्रजनन, हिमाली मानिसको पेसा परिर्वतन, रोग तथा सिकारी प्राणीको वृद्धि, चरिचरनको घट्दो गुणस्तर एवं समुदायको पेसाप्रतिको घट्दो मोहले चौँरी र याक घटिरहेको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले उल्लेख गर्नुभयो । हिमालको ट्रक भनेर चिनिने याक र चौँरी हिँड्ने ग्रामीण सडकमा यातायातका सवारीसाधनको पहुँच बढेकाले पनि मानिसले याकचौँरी पाल्न छाडेका छन् । हिमालको आम्दानी गर्ने र पुँजीको स्रोत याक भएको र त्यसले बिक्री गरेर अन्नको जोहो गर्ने क्रम घटेपछि पाल्ने क्रम पनि कम भएको उपाध्यक्ष शाहीले बताउनुभयो । घुमन्ते जीवनशैलीमा पाल्नुपर्ने याक र चौँरीपालन व्यवसाय निकै कष्टकर हुने भएकाले हिमाली मानिसले सजिलो पेसा रोज्न थालेकाले पनि सङ्ख्यामा कमी आउन थालेको हो ।
याक र चौँरीमा हाडनाताको समस्या भएको र तल्लो भागका गाईसँगको सम्पर्कले साना ठिमाह जातको उत्पादनमा वृद्धि भएपछि यसको सङ्ख्यामा कमी आएको छ । सरकारी निकायले पनि त्यसबारे चेतना जगाउन नसकेको उहाँले स्विकार्नुभयो । जसका कारणले शुद्ध नस्लको याक र चौँरी हराउन थालेका छन् । चौँरी र याक घट्दा त्यसको प्रत्यक्ष असर त्यहाँको पर्यावरणमा पर्न थालेको स्थानीय किसान बताउँछन् । हिमालमा रहेको हाइल्यान्ड, ग्रिनल्यान्ड र खर्कमा ठुला वनस्पति उर्मन थालेका छन् । त्यसको प्रमुख कारण याक चौँरीको सङ्ख्या घट्नु नै भएको राईले दाबी गर्नुभयो ।
याक र चौँरीले चर्न पाएको भएमा त्यहाँ गोडमेल हुने र त्यस्ता वनस्पति उम्रन नपाउने त्यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् । हिमालमा जन्मनेले चौँरीपालन गर्नु पर्छ र त्यो तिनीहरूको दायित्व हो भन्ने भावना सरकारी निकायले देखाएकै कारण चौँरी पाल्ने किसानको सङ्ख्या क्रमिक रूपमा कमी हुँदै आएको हिमालमा बसेर कठिन व्यवसाय गर्दै राज्य, समाज, वातावरण र पर्यावरणलाई योगदान पुर्याएको चौँरीपालन व्यवसायमा राज्यले सहयोग नै नगरेको उहाँले गुनासो गर्नुभयो ।
“हरेक वर्ष त्यहाँका नागरिकले हिमाली क्षेत्र छोड्दै छन्, यसबारे राज्य बेखबर छ,” उहाँले भन्नुभयो, “झट्ट हेर्दा त्यो हिमाली जनजीवन जस्तै देखिए पनि यसले पृथ्वीको पर्यावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने उहाँले बताउनुभयो । चौँरी र याकको सङ्ख्यामा कमी आउँदा हिमाली भेगमा वन र बुट्यान बढ्न थालेका छन् । सिकारको अभावमा हिमचितुवा पहाड झर्ने अवस्था भएको उहाँले बताउनुभयो । चौँरीका बच्चा खाएर बाँच्ने हिमचितुवा तल झर्नुको प्रमुख कारण नै चौँरीको सङ्ख्यामा कमी आउनु हो ।
सरकारी तथ्याङ्कमा नेपालका २९ जिल्लामा ६२ हजारको हाराहारीमा चौँरी रहेको दाबी गरिए पनि चौँरीपालक किसान महासङ्घले भने नेपालमा २९ जिल्लामा ५२ हजार मात्रै चौँरी रहेको जनाएको छ ।
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका कृषक नेमादोर्जे शेर्पाले सरकारी निकायबाट आवश्यक सहयोग नहुँदा याक र चौँरीपालक कृषक पलायन हुने र कृषक पलायन हुँदा मानवरहित हिमालको सौन्दर्य घट्ने, याक र चौँरीको मलले उब्जिएका जडीबुटी लोप हुने दाबी गर्नुभयो । विश्वको सर्वोच्च क्षेत्रमा पाइने जडीबुटीमिश्रित आयुर्वेदिक गुणले भरिपूर्ण घिउ, चिज, छुर्पीले उपयुक्त बजार र मूल्य नपाउने हुँदा हिमाली क्षेत्रका प्रत्येक जिल्लामा जिल्लास्तरीय याक उपज सङ्कलन तथा प्याकेजिङ केन्द्र स्थापना गर्नुपर्ने उहाँले जोड दिनुभयो ।