नवीन सुवेदी
सुर्खेत, माघ २७ गते। सुर्खेतको वीरेन्द्रनगरबाट तिर्थयात्री बोकेर भारतको प्रयागराज कुम्भ मेला जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेततका उपपरीक्षक रूपेश खड्काले जानकारी दिनुभयो।
उहाँका अनुसार महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको हो। बसमा करिब ४० जना यात्रु सवार थिए। घाइते उद्दारकार्य भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच प्राप्त समाचारअनुसार घाइतेमध्ये छजनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र उहाँहरूको पहिचान हुन बाँकी रहेको बताउनुभयो । बस दुर्घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।