चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका रूपमा आइतबार सुरु भएको छ । माघ ३० गते सम्म सञ्चालन हुने १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
मैवाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुस्थित नारायणी माध्यमिक विद्यालयको खेल मैदानमा खेलकुद महोत्सवका रूपमा प्रतियोगिता भव्यरूपमा सुरु भएको हो । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजना र मैवाखोला गाउँपालिकाको संयोजन तथा व्यवस्थापनमा सुरु भएको हो ।
मैवाखोला गाउँपालिकाले खेलकुद महोत्सवका रूपमा प्रतियोगितालाई सम्पन्न गर्नका लागि लिम्बू संस्कृतिमा आधारित ‘सिलाम साक्मा’ को प्रतिमा (मस्कट) निर्माण गरी प्रवर्धन र व्यापक प्रचारसहित प्रतियोगिताको उद्घाटन गरिएको छ ।
खेलकुदका माध्यममार्फत पर्यटन प्रवर्धन गर्न सकिन्छ भन्ने सन्देश लिने उद्देश्यसहित सिलाम साक्माको प्रतिमा निर्माण गरी प्रतियोगिताको उद्घाटन गरिएको मैवाखोला गाउँपलिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष वनेमका अनुसार प्रतियोगितालाई खेलकुद महोत्सवकै रूपमा सम्पन्न गर्नेगरी हालसम्मकै ठुलो आकारमा सिलाम साक्मा निर्माण गरी प्रचार र प्रवर्धन गर्नुका साथै नेपालको सातवटै प्रदेशको सांस्कृतिक पहिचान झल्कने खालका नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
लिम्बू समुदायको केःलाङसहित शेर्पा, गुरुङ, मगरलगायत जाति तथा समुदायको मौलिक संस्कृति झल्कनेगरी सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । यस्तै सन्देशात्मक आकृतिमा मार्चपास समेत प्रस्तुत गरियो ।
यता सदरमुकाममा केन्द्रित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रसम्म विकेन्द्रित गरेसँगै प्रतियोगिता, प्रतियागितामा सीमित नभई महोत्सवका रूपमा परिवर्तन हुन थालेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बूले बताउनुभयो ।
महोत्सवका रुपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन थालेपछि खेलप्रति आकर्षण बढ्दै गएको र जिल्लाको खेलकुद प्रवर्धनमा टेवा पुगेको अनुभूत हुन थालेको लिम्बूको भनाइ छ । जिल्ला खेलकुद विकास समितिका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो र उसुजस्ता विधा समावेस छन् ।
उक्त छ विधाअन्तर्गत ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २०२ पदकका लागि छात्र छात्राबिच प्रतिस्पर्धा रहने पनि समितिले जनाएको छ । प्रतियोगिताको कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो मौसम) ले उद्घाटन गर्नुभएको छ ।