छविलाल पाण्डे
बुटवल, माघ २७ गते । रूपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
फागुन १९ देखि २८ गतेसम्म सैनामैना रङ्गशालामा हुने प्रतियोगितामा राष्ट्रियस्तरको ‘ए’ डिभिजनका आठ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता काठमाडौँको सङ्कटा क्लब, महाविर क्लब, थ्रीस्टार क्लब, विएफसी चितवन, एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मुर्गिया एफसी र कपिलवस्तु एफसीको सहभागिता रहने आयोजक सैनामैना युवा क्लबका खेल संयोजक अशोक खड्काले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टिमलाई सात लाख र उपविजेतालाई पाँच लाख रुपियाँ प्रदान गरिनेछ । रुपन्देहीलाई खेल क्षेत्रको हव बनाउन र राष्ट्रिय स्तरका युवा खेलाडी उत्पादन गर्न प्रतियोगिता सहयोगी बन्ने आयोजकको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न ६० देखि ७० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।