• २८ माघ २०८१, सोमबार

अमेरिकामा नेपालीभाषीको गोली हानी हत्या

blog

राले (अमेरिका), माघ २७ गते । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोवास गर्दै आएका एक जना नेपालीभाषी भुटानीको मङ्गलबार राती हत्या भएको छ । 

न्यु अल्वानी प्रहरीका अनुसार, मृत्यु हुनेमा ३० वर्षीय शेखर चापागाई छन् । त्यही कम्पनीका पूर्व कर्मचारी २८ वर्षीय व्रुस फोस्टरले अन्धाधुन्ध गोली चलाएर चापागाईको हत्या गरेको थियो । गोली लागेर सहकर्मी क्याले वेभरको पनि मृत्यु भएको र अरू चार जना घाइते भएको प्रहरीले जनाएको छ । ओहायोको कोलम्बस नजिकै न्यु अल्वानीस्थित केडीसी वान नामक कस्मेटिक र ब्युटी उत्पादन कम्पनीमा कार्यरत रहेकै अवस्थामा त्यो व्यक्तिले गोली चलाएको थियो । हत्यारालाई प्रहरीले बुधबार बिहानै गिरफ्तार गरेको थियो । चापागाई केही वर्षअघि मात्र डेनवरबाट ओहायो बसाइँ आएका थिए । 

मृतक चापागाईँकी श्रीमती र एक छोरी रहेको बताइएको छ । प्रहरीका अनुसार, आगामी एक दुई हप्तामा नै उनकी श्रीमतीले अर्को सन्तानको जन्म दिनेछिन् । 

सो कम्पनीमा त्यसबेला एक सय ५० भन्दा बढी कर्मचारी कार्यरत थिए । जुन कम्पनीमा धेरै नेपाली कार्यरत छन् ।