• ७ वैशाख २०८२, आइतबार

वराहक्षेत्रमा जङ्गली हात्तीको आतङ्क

blog

वराहक्षेत्रमा जङ्गली हात्तीले अन्नपात खाएर र छरेर गरेको बिझाइँ । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, माघ २७ गते । जङ्गली हात्तीले वराहक्षेत्र २ स्थित किसान अवीरमान भुजेलको घरमा रहेको अन्नपात खाएर र छरेर नष्ट गरेको छ । चारकोशे जङ्गलमा दिनभरी बसेर बेलुका गाउँ पस्ने जङ्गली हात्तीले चतरा क्षेत्रमा आतङ्क मच्याउँदै आएको छ । 

सात वटाको सङ्ख्यामा रहेका जङ्गली हात्तीमध्ये दुई वटा हात्तीले किसान भुजेलले सञ्चालन गरेको आदित्य कृषि फर्म, फर्ममा निर्माण भएको पक्की घर र घरभित्र रहेको २५ मन धान, २० मन मकै, ३ बोरा नुन र ब्लक मेसिनरी गरेको गोदाममा पूर्ण रूपमा क्षति पुर्‍याएको वराहक्षेत्र २ का वडा अध्यक्ष होमप्रसाद गौतमले बताउनुभयो । 

चारकोसे जङ्गलको उत्तरी गाँउ पुनर्बासको आसपास क्षेत्रमा फिरन्ते जङ्गली हात्तीले दुःख दिँदा स्थानीयहरू रातभर निदाउन पाउँदैनन् । एक दुई दिन बिराएर हात्ती गाउँमा प्रवेश गर्ने गरेको वडाध्यक्ष गौतमले बताउनुभयो । उहाँका अनुसार हात्तीसहित निलगाई लगायतका जङ्गली जनावरले क्षति पुर्‍याइरहेको छ । किसानको तोरी, धान, मकैलगायतका अन्नबालीमा क्षति पुगेको हो । 

चारकाेसे जङ्गलमा बसेर साँझपख गाउँ पस्ने हात्तीले स्थानीयको अन्न, बालीनाली मात्रै नास गरेको छैन, घरै भत्काइदिएर दुःख दिने गरेको छ । वडा कार्यालयको सिफारिस अनुसार क्षतिको विवरण हेरेर वराहक्षेत्र नगरपालिकाले सामान्य राहत उपलब्ध गराउँदै आएको वडाध्यक्ष गौतमले जानकारी दिनुभयो । ठुलो क्षति भएको अवस्थामा प्रदेश सरकारलाई सिफारिस गर्ने गरिएको वडाध्यक्ष गौतमले बताउनुभयो । 

वराहक्षेत्रमा हात्ती प्रकोप क्षेत्रका रूपमा रहेको छ । हात्तीको बिझाइँ नियन्त्रण गर्न जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार जडानको तयारी गर्नुपर्ने स्थानीयको माग रहेको छ । हात्तीले बर्सेनी लाखौँ मूल्यको धनमालका साथै मानवीय क्षति पुर्‍याउँदै आएको छ ।