• २८ माघ २०८१, सोमबार

पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड

blog

गैँडाकोटमा रहेको धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर ।

नवलपरासी समाचारदाता

कावासोती, माघ २७ गते । पूर्वी नवलपरासीका पर्यटकीय स्थलको प्रचारप्रसारमा सम्बन्धित पालिकाले अहिले तीव्रता दिएका छन् । यहाँ थुप्रै धार्मिक तथा पर्यटकीय स्थल रहेका र ती स्थलको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन अहिले सरकारी तथा गैरसरकारी निकाय लागिपरेका हुन् । सबै पालिकाले प्रचारप्रसारमा ध्यान केन्द्रित गरेको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । पूर्वी नवलपरासीमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने तथा सौन्दर्यीकरण गर्ने काम भइरहेको पिप्रहर होमस्टेका व्यवस्थापक सोमलाल महतोले बताउनुभयो । 

सबैभन्दा बढी पर्यटक आउने चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, देवचुली बडाचुली, सिजी शाश्वतधाम, नारायणी नदीमा बोटिङ, निकुञ्जको अवलोकन, दाउन्नेदेवी मन्दिर, मौलाकालिका मन्दिर, कालीगण्डकीमा ¥याफ्टिङ, घुमारीघाटलगायतका पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटक लोभ्याउने गतिविधि गरिएको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीमगरले बताउनुभयो । निकुञ्जसँगै रहेका ठाउँ, नारायणी तटसँगैको मन्दिरपरिसरमा पछिल्लो समय वनभोज खान र घुम्न जाने, हात्ती सफारी, नारायणी नदीमा डुङ्गा सयरलगायतका लागि पर्यटकलाई आकर्षित गर्न पर्यटकीय स्थलको प्रचारप्रसारदेखि पुनर्निर्माणका काम भइरहेको कावासोती नगरपालिकाका प्रमुख विष्णु भुसालले बताउनुभयो ।

नारायणी नदीको सुन्दरतासँगै देखिने चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य निकै मनमोहक लाग्ने भएकाले पनि यस क्षेत्रमा घुम्न आउने बाह्य र आन्तरिक पर्यटक अहिले बढ्दै गएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिकाको डन्डादेखि करिब १२ किलोमिटरको यात्रापछि आउने नारायणी नदीमा रहेका होमस्टे आकर्षक बन्दै गएपछि पर्यटक आगमन बढेको कावासोती नगरपालिकाले जनाएको छ । 

नजिकै रहेका थारू ग्रामीण बस्ती, अमलटारी, घरबाससहित मध्यवर्ती क्षेत्रमा वन्यजन्तु अवलोकन गर्नसमेत पाइने भएपछि यहाँ बाह्य र आन्तरिक पर्यटक यस क्षेत्रमा आउने क्रम बढेको हो । साथै नयाँ वर्ष, विभिन्न चाडपर्व, बिदाको समयमा यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत विगतको भन्दा बढ्दै गएको कावासोतीका प्रेम न्यौपानेले बताउनुभयो । नवलपरासीपूर्वमा विगत सात महिनायता मात्र आन्तरिक र बाह्य गरी तीन लाखभन्दा बढी पर्यटकले अवलोकन गरेको कावासोती नगरपालिका प्रमुख भुसालले जानकारी दिनुभयो ।