• २६ माघ २०८१, शनिबार

‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’

blog

तस्बिर : रासस

मोरङ, माघ २६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताउनुभएको छ । कोशी प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद् एवम् महामारीका समयमा स्काउटका स्वयंसेवकले गरेका सेवा महत्त्वपूर्ण रहेको स्मरण गर्दै समाज र राष्ट्रलाई सही बाटोमा लैजाने असल नागरिक उत्पादनका लागि प्रदेशका सम्पूर्ण वडा तथा सबै विद्यालयमा स्काउटको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्काउटलाई राजनीतिबाट टाढा राखी विशुद्ध सामाजिक कार्यमा लाग्नुपर्ने सुझावसमेत दिनुभयो । 

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले असल समाज निर्माण गरी आर्थिक र बौद्धिक विकासमा स्काउटको ध्यान केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले विकास एवं अनुशासनमा स्काउटको महत्त्वमाथि चर्चा गर्नुभएको थियो । 

तीन दिने भेलामा प्रदेशका ६७ पालिका तथा विभिन्न विद्यालयका पाँच हजार विद्यार्थीको सहभागिता रहेको छ । भेलाले  बाढीपहिरो एवं विपद्का समयमा उद्धार, अनुसाशानलगायत स्काउटसम्बन्धी विभिन्न क्रियाकलापको आयोजना हुने जनाइएको छ । रासस