• २६ माघ २०८१, शनिबार

तातोपानी गाउँपालिकाको १६ औं गाउँ सभा : बाल केन्द्रित कानुन पारित

blog

तातोपानी गाउँपालिका जुम्लाको १६ औं गाउँ सभापछि सामूहिक तस्बिर खिचाउँदै कार्यपालिका सदस्यहरू । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, माघ २६ गते ।
स्थानीय सरकारले सङ्घीय कानुनलाई आधार बनाएर आफु अनुकुलका कानुन बनाउने क्रम जारी राखेका छन् । स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै काम गर्न सहज होस भनेर गाउँ तथा नगर सभाबाट नयाँ कार्यविधि बनाउने क्रम पनि जारी रहेको छ ।

जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाको १६ औं गाउँ सभाले बालबालिका केन्द्रित तीन वटा कार्यविधिसँगै १४ वटा कार्यविधि सर्वसम्वत पास गरेको छ । साथै दुई वटा पुराना कार्यविधिलाई पहिलो संशोधन समेत गरेको हो । सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बाल सहभागिता कार्यविधि २०८१, बालबिवाह निरित्साहित निर्देशिका २०८१ र बालबालिका माथि हुने सबै प्रकारका हिंसा उजुरी सुनुवाइ कार्यविधि सभाले पारित गरेको बताउनुभयो ।

अध्यक्ष चौलागाईले सहयात्रा परियोजनालाई बालबालिका केन्द्रित काम गर्न सहज होस र सरकारलाई पनि एक्सनमा जान बाटो खुला होस भनेर बालबालिका, महिला लक्षित कार्यविधि पास गरेको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता तथा विधान तथा सुशासन समितिका संयोजक अमरबहादुर रोकायाले यस अघि बनेका केही कार्यविधिले अहिले काम गर्न असहज भएकाले घर नक्सा पास कार्यविधि २०८० र पर्यटकिय स्थल तातोपानी धारा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ लाई पनि संशोधन गरेको बताउनुभयो ।

सभाले समाजमा कुरीतिका रूपमा रहेको छाउपडी प्रथाविरुद्ध कार्यक्रम कार्यन्वयन कार्यविधि २०८१, घर बिमा कार्यविधि २०८१, अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१, लोकसेवा आयोगको निःशुल्क कक्षा सञ्चालनसम्बन्धी कार्यविधि २०८१, विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कन्टेजेन्सी रकम व्यवस्थापन कार्यविधि २०८१, ढुङ्गा गिट्टी उत्खननसम्बन्धी माप्दण्ड २०८१ पनि पारित गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले विभिन्न आयोजनाबाट गाउँपालिकालाई प्राप्त कन्टेजेन्सी बापतको रकम गाउँपालिकाले खर्च गर्न पाउने भए पनि कार्यविधि नहुँदा महालेखाले पछि प्रश्न गर्ने भएकाले सबै तिरको अध्यानले गाउँपालिकालाई कुनै असर नपर्ने गरी विभिन्न कार्यविधि पास गरेको बताउनुभयो । प्रमुख कठायतले अब काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

एकल पुरुषले पनि भत्ता पाउने
१६ औं गाउँ सभाले पारित गरेका १४ कानुन भित्र एकल पुरुषलाई पनि भत्ता पाउने कार्यविधि पारित गरेको छ । एकल पुरुष अर्थात श्रीमती गुमाएका पुरुषको जिवन यापन सहज होस भनेर एकल पुरुष भत्ता वितरण कार्यविधि २०८१ समेत पारित गरेको छ । अब कार्यविधि पास भएपछि एकल पुरुषले पनि एकल महिला सरह भत्ता पाउने भएका छन् । साथै विवाह नै नगरी बसेका कुमार पुरुषले पनि भत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाले जारी गरेका नयाँ निति तथा कार्यविधिले तातोपानीलाई थप विकास गर्न सहज हने विश्वास गरिएको छ ।