• २६ माघ २०८१, शनिबार

गुल्मीमा ९५ प्रतिशतले लगाए एचपिभी खोप

blog

रमेश विश्वकर्मा
गुल्मी, माघ २६ गते ।
गुल्मीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९५ दशमलव ६० प्रतिशतले लगाएका छन् । यस जिल्लामा माघ २२ गतेदेखि सबै स्थानीय तहमा एचपिभी खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार शुक्रबारसम्म रेसुङ्गा नगरपालिकामा ९१ दशमलव १० प्रतिशत र मुसिकोट नगरपालिकामा ९५ दशमलव १९ प्रतिशतले एचपिभी खोप लगाएका छन् । कालीगण्डकी गाउँपालिकामा ९६ दशमलव ०४ प्रतिशत, सत्यवती गाउँपालिकामा ९५ दशमलव ३९ प्रतिशत, चन्द्रकोट गाउँपालिकामा ९५ दशमलव ६४ प्रतिशत, इस्मा गाउँपालिकामा ९४ दशमलव ४६ प्रतिशत, मालिका गाउँपालिकामा ९९ दशमलव २२ प्रतिशतले एचपिभी खोप लगाएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी मदाने गाउँपालिकामा ९९ दशमलव ०१ प्रतिशत, धुर्कोट गाउँपालिकामा ९२ दशमलव ५० प्रतिशत, गुल्मीदरबार गाउँपालिकामा ९८ दशमलव ६२ प्रतिशत, छत्रकोट गाउँपालिकामा ९४ दशमलव ४३ प्रतिशत र रुरुक्षेत्र गाउँपालिकामा १०० दशमलव १४ प्रतिशतले एचपिभी खोप लगाएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई लक्षित गरेर सरकारले एचपिभी खोप अभियान सञ्चालन गरेको छ ।

खोप अभियानलाई व्यवस्थित गरी खोप लगाउनका लागि स्वास्थ्य कार्यालयले १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरेको छ । फागुन ६ गतेसम्म सञ्चालन हुने यस अभियानमा जिल्लाका सामुदायिक १८५ र संस्थागत २५ गरी कुल २१० विद्यालयमा कक्षा ६ देखि दससम्म अध्ययनरतसँगै विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरू गरी कुल ११ हजार ४८८ जनालाई खोप लगाइने लक्ष्य राखिइएको छ ।