सिराज खान
नेपालगन्ज, माघ २५ गते। नेपालगन्जमा सञ्चालन भएको प्रादेशिक महोत्सव २०८१ मा ६ करोडको कारोबार भएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ।
यही माघ १० गतेदेखि २३ गतेसम्म गरिएको सो महोत्सवमा ६ करोड भन्दा बढीको कारोबार भएको संघका अध्यक्ष टंकबहादुर धामीले बताउनुभयो। उहाँले अझै केही स्टलबाट कारोबारको जानकारी आउन बाँकी रहेकोले कारोबार भएको रकम बृद्धि हुने बताउनुभयो।
उहाँले १४ दिनसम्म सञ्चालन भएको सो महोत्सवलाई बाँके र बर्दियाका गरेर दुई लाख सर्वसाधारणले अवलोकन गरेको जनाउँदै ६ करोड बढीको कारोबार भएको बताउनुभयो।
महोत्सवमा भएको कारोबारले यस क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठुलो सहयोग गरेको जनाउँदै महोत्सव र मेला आयोजना गर्ने उद्योग वाणिज्य संघलाई मात्र दिनुपर्ने माग यहाँका उद्योगी व्यवसायीले जनाएका छन्।
लामो समयपछि भएको सो महोत्सवमा कर्णालीका अर्गानिक उत्पादनदेखि स्थानीय अन्य उत्पादन र घरमै तयार पारिएका वस्तुको खरिद बिक्री बढी भएको पाइएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ।
महोत्सव समापनमा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रले देशको आर्थिक अवस्था बलियो बनाउन दिनरात मिहिनेत गरिरहेको जनाउँदै सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश प्रतिनिधि देवेन्द्र पाण्डे, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराई लगायतले देशको उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउनुपर्ने माग सरकारसँग गर्नुभएको थियो।
महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारद्वारा दैनिक रुपमा कला संस्कृति संरक्षणका लागि प्रस्तुत गरिएका गीत, नृत्य र अन्य सांस्कृतिक कार्यक्रमप्रति सबैभन्दा बढी अवलोकनकर्ताको आकर्षण देखिएको थियो।