भावना जोशी
अत्तरिया , माघ २५ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको बताउनुभएको छ। नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
मन्त्री डा. राणाले भन्नुभयो, “हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सकेसम्मको मिहिनेत भइराखेको छ।सबै क्षेत्रबाट सरकारले पहल गरेको छ।हाम्रो चाहना विपिन सकुशल फर्केर आउन् भन्ने हो ।”
नेपाली कांग्रेसको नीति मार्गदर्शन देश बनाउने भएको बताउँदै उहाँले सबै नेता कार्यकर्तालाई सकरात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्नुभयो।उहाँले राजनीतिबाट मात्रै परिवर्तन ल्याउन सकिने बताउँदै आ–आफ्नो क्षेत्रबाट कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
एक अर्को प्रसंगमा उहाँले सामाजिक सञ्जालमा देशको बारे नकारात्मक टिप्पणी देखिए पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे सकारात्मक सन्देश दिने काम भइरहेको दाबी गर्नुभयो।“विदेशमा जाँदा नेपाल र नेपालीलाई मिहिनेती, इमान्दार भनेर चिन्ने गर्छन्।हामी सधै नकारात्मकमा भन्दा सकारात्मक तिर लाग्नुपर्छ”, उहाँले भन्नुभयो।
मन्त्री डा. राणाले सुदूरपश्चिममा धेरै विकास निर्माणका काम भएको दाबीसमेत गर्नुभएको छ ।
सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पदाधिकारी, पालिका सभापति, पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो।