• २५ माघ २०८१, शुक्रबार

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको ‘भर्चुअल’ बैठक

समस्यालाई पहिचान गरेर समाधानका लागि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली

blog

मुख्यमन्त्रीसँगको भर्चुअल बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, माघ २५ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग पहिलो पटक यस प्रकारको संवाद गर्नुभएको हो। करिब साढे दुई घन्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीसँग एक्लाएक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी जुट्दा थप छलफल गर्दै जाने विश्वास दिलाउनुभयो। 

उहाँले सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेशसभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयनको ’एक्सन’ मा जाने जानकारी दिनुभयो। 

प्रधानमन्त्री ओलीले अहिलेको सूचना र प्रविधिको जमानामा यसको उपयोग गरी जिल्ला तह र आयोजनागतरुपमा मुख्यमन्त्रीले यस्ता छलफल गर्न सकिने सुझाव दिनुभयो। 

प्रधानमन्त्री ओलीले आफू पहिला प्रधानमन्त्री हुँदा सिंहदरबारस्थित कार्यालयमा एक्सन रुमबाट देशभरका निर्माणाधीन आयोजनाबारे अनुगमन र छलफल गर्न थालेको स्मरण गराउँदै यस कक्षको उपयोगलाई बढाउँदै जाने बताउनुभयो।

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण हुने अवस्था सुधार्न आफूले केही युवाको सहयोगमा अनलाइन माध्यमबाट मुख्य विषयमा अतिरिक्त कक्षा सञ्चालनको आरम्भ गराएको बताउँदै यसमा ५७ हजार विद्यार्थी सहभागी जानकारी गराउनुभयो। 

आगामी वर्षदेखि यसै वर्षदेखि यस प्रकारको तयारी गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकासको आधारका रुपमा शिक्षालाई लिनुपर्नेमा जोड दिनुभयो। उहाँले डिजिटल नेपालतर्फ आफू अघि बढेकाले स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि सूचना र प्रविधिको उपयोग गरेर जनतालाई लाभ दिन सकिने बताउनुभयो।


संवादमा मुख्यमन्त्रीले यस प्रकारको छलफला राखिएकामा आभार व्यक्त गर्दै आफ्ना सरकारले चालु आर्थिक वर्षको हालसम्म हासिल गरेका भौतिक र वित्तीय प्रगति, विद्यमान चुनौती र समस्या समाधानका उपायबारे अवगत गराउनुभएको थियो। उहाँहरुले बहुवर्षीय ठेक्का लागेका कार्यक्रममा बजेटको निरन्तरतासहित अनुदान रकम वृद्धि हुनुपर्ने, आयोजना सञ्चालनका लागि रुख कटान र जग्गा प्राप्तिमा सहजता हुनुपर्ने, विपद् व्यवस्थापनमा बजेट थपिनुपर्ने, जनशक्ति व्यवस्थापन, भन्सारमा हुने चोरी–निकासी नियन्त्रण गर्नुपर्ने, गण्डकीलाई पर्यटकको केन्द्रका रुपमा विकास गर्न निर्माणधीन सडक विस्तार छिटो सम्पन्न गर्नुपर्ने, पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि मुअब्जा विवाद टुङ्ग्याउनुपर्ने, कार्यविस्तृतीकरण पुनः विचार गर्नुपर्ने, प्रदेशमा पर्यटक र आम्दानी वृद्धिका लागि सहजीकरण गरिनुपर्ने लगायत सुझाव दिनुभएको थियो।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुख्यमन्त्रीले उठाएका समस्याका विषय सङ्घीय मन्त्रिपरिषद्को बैठक र नेपाल सरकारका सचिवको बैठकमा छलफलको विषय बनाइ सम्बोधन गरिने बताउनुभयो।

संवादमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र उच्चाधिकारीको सहभागिता थियो।