• २५ माघ २०८१, शुक्रबार

बाँकेमा ५५ प्रतिशत बालिकाले लगाए एचपिभी खोप

blog

नेपालगन्जमा खोप लगाउन खोप केन्द्र पुगेका बालिकाहरु । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, माघ २५ गते ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु भएको तीन दिनमै बाँके जिल्लामा ५५ प्रतिशत बालिकालाई खोप लगाइसकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो चरणको खोप कार्यक्रम अनुसार नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा तीन दिनमा १३ हजार ६१९ जना बालिका र किशोरीलाई एचपिभी खोप लगाइएको छ ।

उहाँले ती चार पालिकामा लक्षित उमेर समूहका २४ हजार ५८९ बालिका र किशोरीहरु रहेकोमा १३ हजार ६१९ जना अर्थात् ५५ प्रतिशतलाई खोप लगाई सकिएको बताउनुभयो ।

खोप अभियान निकै राम्रोसँग चलिरहेको र सो अभियानमा सबै धर्म र सम्प्रदायका बालिकाहरुको राम्रो सहभागिता भइरहेकाले सो अभियान शतप्रतिशत सफल हुने विश्वास रहेको खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

सो क्रममा हालसम्म नेपालगन्ज उपमहानगरपालिकामा पाँच हजार २५२ जना, कोहलपुरमा चार हजार ५४८ जना, खजुरामा दुई हजार ६०२ जना र जानकीमा एक हजार २१७ जना बालिकालाई एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो ।

उहाँले जिल्लाका चारवटा पालिकामा पहिलो चरणमा २४ हजार ५८९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा तीन दिनमा १३ हजार ६१९ जनालाई लगाइएकाले अझै १० हजार ९७० बालिकालाई खोप लगाउन बाँकी रहेको बताउनुभयो ।

यसअघि जिल्लाका करिब ३७ हजार बालिका र किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्यका साथ खोप अभियान अभियान मङ्गलबारबाट सुरु गरिएको थियो ।

पmागुन ६ गतेसम्म सञ्चालन गरिने सो अभियानअन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका बालिका तथा किशोरीहरुलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

पहिलो चरणअन्तर्गत मङ्गलबारदेखि फागुन १ गतेसम्म नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा खोप अभियान सञ्चालन गरिने तथा दोस्रो चरणअन्तर्गत माघ ३० देखि फागुन ६ गतेसम्म राप्ती सोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप दिने कार्यक्रम रहेको छ ।

खोप अभियान सञ्चालनका लागि जिल्लाभर ५२४ वटा खोप केन्द्र स्थापना गरिएकोमा ती मध्ये २७६ वटा बिद्यालयमा, ८१ वटा विभिन्न स्वास्थ्य संस्थामा र अन्य १२६ वटा खोप केन्द्र कायम गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले बताउनुभयो ।

उहाँका अनुसार खोप अभियानलाई सफल पार्न जिल्लामा ५२४ जना स्वास्थ्यकर्मी र एक हजार ४८ जना स्वयंसेवक खटाईएको छ ।