• २८ फागुन २०८१, बुधबार

हस्तकलाका सामग्री ग्राहकको रोजाइमा

blog

महोत्सवमा विक्रीको लागि राखिएको हस्तकलाका सामग्री । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), माघ २५ गते । कारागारबाट उत्पादित हस्तकलाका सामग्री महोत्सवमा आउने ग्राहकको रोजाइमा परेको छ । पाल्पा कारागारका बन्दीहरुले उत्पादन गरेको सामग्रीप्रति ग्राहकको आकर्षण बढेको हो ।

जिल्लाको रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा राखिएको हस्तकलाका सामग्रीको विक्री स्टलमा हस्तकलाका सामग्री खरिद गर्ने तथा अवलोकन गर्नेको भीड लाग्ने गरेको छ । कलात्मक स्वरुप दिएर बाँस, बेत, काठ, डोरी तथा धागो बाट तयार गरिएका उत्पादन रोजाइमा परेको छ । कारागारका बन्दीहरुको मेहनत र परिश्रमलाई प्रोत्साहन गर्दै मेलामा पुगेका व्यक्तिले सामग्री किन्ने गरेका छन् ।

मुढा, ढँकिया, नाम्लो, चाल्नी, नाङ्लो, मादल लगायत सामग्री बिक्रीका लागि राखिएका छन् । महोत्सवमा घरेलु तथा साना उद्योग कार्यालय तानसेनले आयोजक रामपुर उद्योग वाणिज्य संघ संग समन्वय गरी विक्री स्टलको व्यवस्था गरेको छ । कारागारमा उत्पादन भएका सामग्रीको विक्री वितरण गर्दै आउनु भएका व्यवसायी बालकृष्ण अर्यालले कारागारको सामग्री खरिद गरी मेलामा बिक्री गरिरहनुभएको छ ।

पाल्पा कारागारमा उत्पादन भएका हस्तकलाका सामग्रीको आफ्‌नो छुट्टै पहिचान रहेको बताउँदै विभिन्न मेला तथा महोत्सवमा ग्राहकको रोजाईमा परेको बताउनुभयो । “हरेक वर्ष पाँच देखि छ वटा मेला महोत्सवमा कारागार बाट उत्पादित सामग्री विक्रीको लागि लैजाने गरेको छु । पाल्पाको उत्पादन अधिकांश मेलामा ग्राहकको रोजाईमा पर्ने गरेको छ,” उहाँले भन्नुभयो ।

यसअघि बुटवलमा लागेको १२ दिनको महोत्सवमा विक्रीको लागि लगिएको सामान आठ दिन मै विक्री गरेर फर्किएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “रामपुरमा पनि व्यापार उत्साहजनक रुपमा भैरहेको छ । दैनिक २५ हजार भन्दा बढीको व्यापार भैरहेको छ ।” तीन दशक देखि हस्तकलाका उत्पादन विक्री वितरण गर्दै आउनु भएका अर्यालले घरेलु तथा साना उद्योग कार्यालयले विक्री कक्षको व्यवस्था गरेपछि बजारिकरणमा धेरै सजिलो भएको बताउनुभयो ।

तानसेनस्थित सुजन जनरल स्टोर्सका सञ्चालकसमेत रहेका अर्यालले घरेलु उत्पादनका सामग्री आकर्षक, टिकाउ र गुणस्तरीय हुने भएकाले राम्रै व्यापार भइरहेको बताउनुभयो । ‘घरेलु सामग्रीको महत्व बुझ्नेले खोजीखोजी किनेर लैजाने गर्नुहुन्छ’, उहाँले भन्नुभयो । उहाँले तीन दशक देखि हस्तकलाका सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ । हरेक मेलाको लागि दुई महिना अघि देखि सामग्री तयार गर्न लगाएर खरिद गरी विक्री गर्दै आएको बताउनुभयो ।

मेलामा मुढा न्यूनतम तीन सय ५० देखि पाँच सय रुपियाँसम्म, नाङ्लो दुई सय ५० देखि चार सय रुपियाँँसम्म, चाल्नी चार सय रुपियाँ, नाम्लो सय रुपियाँ, वेट र बाँस बाट बनेको पुजा दानी सात सय देखि एक हजार मूल्य कायम गरिएको छ । साथै विभिन्न साईजका मादल पनि विक्रीमा रहेको छ । कोभिड–१९ भन्दा अघि पाल्पामा उत्पादन भएको हस्कलाका सामग्री चीनमा समेत निर्यात गरिंदै आए पनि त्यस पश्चात निर्यात हुन छाडेको बताउँदै अहिले मेला महोत्सव बाटै विक्री वितरण गर्दै आएको जानकारी दिनुभयो ।

उहाँको तानसेनस्थित पसलमा हस्तकलाका सबैजसो सामग्री, सिलौटो, खैजडी, गिटार, मादल लगायत वाद्यवादनका सामग्री विक्री गर्दै आउनु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय तानसेनले विगतमा कारागारमा हस्तकलाका सामग्री उत्पादन सम्बन्धी तालिम तथा प्रवद्र्धनको कार्यक्रम गर्दै आएको थियो। 

कार्यालयका उद्योग अधिकृत श्याम कुमार पौडेलले पछिल्ला वर्षहरुमा अन्य कार्यक्रमहरु नभए पनि उत्पादन भएका सामग्रीको बजारिकरणका लागि मेलाहरुमा विक्री कक्षको व्यवस्था गरेर सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यालयले घरेलु उद्योग बाट उत्पादित सामग्रीको बजारिकरणको लागि पाँच वटा स्टलको व्यवस्था गरेको छ । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा गत माघ १५ देखि सुरु भएको मेलामा स्थानीय उत्पादन, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएको आयोजकले जनाएको छ ।

मेलामा घरेलु तथा साना उद्योग र महिला उद्यमीले तयार गरेका सामग्री, कृषि उपज, हस्तकलाका सामग्री उत्पादनलाई प्रोत्साहनका लागि प्राथमिकता दिइएको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो ।