नेपाल सुन्दर छ । सुन्दर, शान्त र विशाल भनिएको हाम्रो देशका महत्वपूर्ण एवं गौरवपूर्ण स्थान, इतिहास, धर्म संस्कृति र व्यवहारहरूले हामीलाई विश्वसामु चिनाएको छ । हाम्रो प्रकृति, धर्म–संस्कृति र भौतिक अवस्थिति यी तिनै चिजहरूले हामीलाई दिव्यता र दैवी सम्पदाको धनी बनाएको छ । देश समग्रमा सुन्दर छ र त्यसमा पनि कुनै स्थान विशेषमा त सुन्दरताको पराकाष्ठा नै छ । त्यसमध्ये एक जिल्ला हो, दोलखा ।
हामी सुन सिरानीमा राखेर नुन खोज्न बरालिएका छौँ । हामी आफ्नै सुगन्ध बिर्सिएका कस्तुरी भयौँ । दोलखासँग सबै चिज छ– मनोरम च्छोरोल्पा हिमाल र ताल, कालिञ्चोक भगवतीस्थल, मनोरम शैलुङ, भीमेश्वर स्थान, सुन्दर कलकल बगेको तामाकोशी, नेपालको स्विट्जरल्यान्ड भनिने जिरी, मनमोहक खरी ढुङ्गा, हनुमन्ते डाँडा, चेदुङ डाँडा र त्यस्तै अनेकौँ गुफा, वन–वनस्पति आदि आदि । काठमाडौँबाट नजिकै पर्ने जिल्लाको बहुपक्षीय विषयवस्तुको दृष्टिबाट यो पङ्क्तिकारको प्रथम रोजाइको जिल्ला हो, दोलखा । यो रोजाइ हृदयदेखि नै प्रफुल्लित मनोरम रोजाइ हो र सायद अरूको पनि यही नै होला । समग्रमा प्रकृतिको अनुपम वरदान दृष्टि स्थान हो दोलखा जिल्ला ।
दोलखा भन्नासाथ भीमेश्वरको नाम आउँछ । काठमाडौँ र समग्र नेपालबाटै भीमेश्वर मन्दिर दर्शन गर्न नजाने कमै नेपाली होलान् । कालिञ्चोक र हालमा शैलुङ पनि मानिसको गन्तव्य रोजाइका स्थान हुन् । शैलुङको महत्व र आकर्षण दिनानुदिन बढिरहेको अनुभूति हुन्छ र प्रस्ट देखिन्छ पनि । यी स्थानहरू अब सुगम बनेका छन् र सुविधा सम्पन्न पनि हुँदै छन् । त्यसैले आन्तरिक र बाह्य दुवै पर्यटकका लागि काठमाडौँबाट नजिक (१३५ किमि) मा रहेको दोलखा, चरिकोटलगायतका महत्वपूर्ण स्थानहरू तथा आसपासका स्थानको महत्व दिनानुदिन बढ्दै गएको छ ।
अब भीमेश्वर तथा दोलखा भीमसेनबारे विशेष विषय प्रसङ्गमा जाउँ । दोलखा भीमेश्वर दोलखाको सबैभन्दा पुरातन मन्दिर हो । यो पनि भनिन्छ कि महाभारतका पाँच पाण्डवमध्ये माइलो भीमसेनले यहाँ १२ वर्ष बिताउनुभएको थियो । छानाविहीन मन्दिर र त्रिभुज आकारको भीमेश्वरको श्रीविग्रह अर्थात् मूर्तिका तीन भुजामा एउटा भीमसेन, दोस्रो भगवती देवी र अर्को शिव हुन् भन्ने मान्यता एउटा छ भने अर्को मान्यतामा भीमेश्वर एक दिनमा तीन फरक भूमिकामा रहन्छन् भन्ने छ । पहिलो प्रहर बिहानको समय भीमेश्वर महादेवका रूपमा, दोस्रो प्रहरमा पुजिने भीमसेन विष्णुको राम अवतारमा हनुमान हुनुहुन्थ्यो भन्ने हनुमान शिवको रुद्रावतार हुनुहुन्थ्यो । यसर्थ दिउँसो विष्णु तथा भैरवको रूपमा र साँझ महाभारतका प्रसिद्ध योद्धा पाँच पाण्डवमध्येका भीमसेनका रूपमा । त्यसैले पूजा आराधना तीन वटै शक्तिका रूपमा यहाँ गरिन्छ । यो मन्दिर एउटा शक्तिशाली शक्तिपीठको रूपमा मानिँदै आएको छ । यो मन्दिर दोलखा भीमसेन अथवा भीमेश्वर दोलखापतिका नाममा प्रख्यात छ र दोलखा जिल्लाको प्रसिद्ध पहिचान तथा आकर्षण पनि हो । यो मन्दिर भीमसेनको मन्दिरको साथै पाँच पाण्डवकी आमा कुन्ती र श्रीमती द्रौपदीको पनि श्री विग्रह छ ।
स्थानीय बासिन्दाको विश्वासमा यो मूर्तिलाई पसिना आउँदा छ महिनाभित्र देशमा परिवर्तन, सङ्कट तथा अनिष्ट पर्छ । यो कुराको प्रत्यक्ष दर्शन र चर्चासमेत भई नै रहन्छ । हिन्दु र बुद्धिष्ट दुवैको पवित्र स्थान पनि हो यो । यो शक्ति, आस्था, विश्वास र समर्पणको धरोहर हो । दोखला भीमेश्वरको उत्पत्ति तथा स्थापनाबारे जानिफकारहरूका अनुसार १५ जना भरिया यो क्षेत्रबाट भ्रमण गर्दा यो स्थानमा बसेर आफ्नो खाना मकैको ढिँडो पकाउँदै थिए । ढिडो पकाउँदा भाँडो कालो ढुङ्गाको चम्कामा बसालेका थिए । ढिँडो एक साइड नपाकेको र अन्य साइडमा भने पाकेको देख्दा पकाउने भरियालाई रिस उठेर ढिडो चलाउने डाडुले चम्काको कालो पत्थरलाई हिर्काउँदा ढुङ्गा दुई टुक्रा भएर त्यहाँबाट रगत र दुध बग्न थाल्यो । यो देखेपछि १२ जना भरिया नै जम्मा भएर ढुङ्गाको पूजा गर्न लागे भन्ने मान्यता छ । यो पनि विश्वास छ कि त्यहाँ रहेको शास्त्र ग्रन्थमुनिको पानीको भाँडा त्यहीँ फुटेको कालो भाँडाले बनेको छ ।
यही माघ २६ गते शनिबारका दिन भीम एकादशीका दिन परापूर्वकालदेखि नै शैलुङ डाँडामा रहेको भीमसेन तरबार सिखा पूजाको आयोजना हुन गइरहेको र यस अवसरमा सो पूजा कार्यक्रममा सहभागी हुन आयोजकका तर्फबाट सार्वजनिक आह्वानसमेत भएको छ । सांस्कृतिक तथा इतिहासविद् डा. जगमान गुरुङको भनाइ अनुसार दोलखा भिमसेन नेपाल मण्डलमा ईशान कोण अर्थात् कुवेरको दिशामा छ । अहिले गर्ने भनिएको भीमसेनको खड्ग तथा तरबार पूजा गर्ने विषयका सम्बन्धमा डा. गुरुङ प्रस्ट पार्नुहुन्छ– दोलखाबाट भीमेश्वर तथा भीमसेन महाराज नेपाल मण्डलतर्फ प्रस्थान गर्दा शैलुङको बाटो आउनुभयो र त्यो खड्ग शैलुङको डाँडामा त्यही बिसाउनुभयो र उहाँ नेपाल मण्डल आउनुभयो । त्यसैले सर्वप्रथम यो खड्ग दर्शनका लागि शैलुङ जाने र दर्शनपछि दोलखा भीमसेन गएर दर्शन गर्दा सिद्धि प्राप्त हुन्छ अर्थात् शुभमङ्गल हुन्छ भन्ने धार्मिक विश्वास र दृढ मान्यता रहिआएको छ । यो खड्ग ठुलो ढुङ्गामा आकृतिको रूपमा पछि शिलाको रूपमा प्रतिस्थापित हुन गएको भन्ने किंवदन्ती छ ।
शैलुङ आफैँमा पवित्र र रमणीय स्थल छ । निकै उच्च स्थानमा रहेको, उत्तरतर्फ प्रस्ट रूपमा देखिने हिमाल र दोलखाका महत्वपूर्ण रमणीय पर्वतीय भागहरू र सुगन्धित वनस्पतिले ढाकिएको र उच्च भाग सुन्दर पाटन चौर रहेको यो अलौकिक स्थान स्वर्गीय आनन्द दिने स्थल हो । अहिले भौतिक पूर्वाधारहरू पुगिसकेको र माथिल्लो भाग संरक्षित अवस्थामा राख्न तथा प्रकृति र विकासलाई सन्तुलनमा राख्ने चेष्टासहित पर्यटकीय आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ । शैलुङको माथिल्लो पाटन क्षेत्रमा भीमसेन तरबार सीताको पाइला अङ्कित शिला, बाघ ढुङ्गा र पृथ्वीको नाइटो भनेर चिनिने स्थान रहेका छन् । बौद्ध गुम्बा पनि यहाँ रहेको छ, जहाँ बुद्धले पाइला टेकेको भनिने गरिन्छ । यसको तल रहेको वन वनस्पतिले भरिएको स्थानमा शैलुङ्गेश्वर महादेवको मन्दिर र गुफा धर्मद्वार, शिलामा गाईको खुर एवं थुन जस्ता आकृतिहरू, हनुमान गुफा, डाँफे गुफालगायत त्रिशूल र सर्पको आकृति, हात्तीको सुड र शिवलिङ्गलगायत धेरै प्रकारका आकृति, चिह्न र स्तम्भहरू हामी देख्न सक्छौँ । त्यसैले माघ २६ मा एउटा सुयोग जुरेको छ, दर्शन र दृश्य अवलोकनबाट धन्य हुने अवसर नगुमाउन गरिएको आह्वान महत्वपूर्ण र उचित छ । सबैको जय होस् ।