हुम्ला, माघ २५ गते । हिमाली लामा समुदायका महिलाले स्थानीय चाडपर्वमा अनिवार्य रूपमा परम्परागत पोसाक लगाउनैपर्ने नियम बनाएका छन् । लामा समुदायका महिलाले लगाउने परम्परागत पोसाकको संरक्षण र प्रवर्धनका लागि महिला आफैँले मिलेर यस्तो नियम बनाएका हुन् ।
सिमकोट गाउँपालिका–३ की छपाल लामाले पछिल्लो समय महिलाले साझा निर्णय गर्दै स्थानीय चाडपर्वमा पनि परम्परागत पोसाकमा सजिएर सहभागी हुनुपर्ने नियम बनाइएको बताउनुभयो । महिलाहरू आफ्नो संस्कृति झल्किने पोसाक छोडेर आधुनिक पहिरनमा सजिन थालेपछि परम्परागत पोसाकको संरक्षण र प्रचारप्रसारका लागि यो नियम लागु गरिएको उहाँले बताउनुभयो । सिमकोट गाउँपालिकाका– १, ३, ४ मा लामा समुदायको बाक्लो बसोबास रहेको छ । यो नियम लागु भएसँगै यहाँका सबै महिलाले एक जोर परम्परागत पोसाकको व्यवस्था गर्नुपर्ने भएको छ ।