गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २५ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सानेपास्थित फाइभ स्टार रेस्टुरेन्ट एन्ड बारमा अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई लाख रुपियाँ जरिबाना गरेको छ ।
उक्त रेस्टुरेन्ट एन्ड बारविरुद्ध हेलो सरकारमा परेको उजुरीका आधारमा विभागको अनुगमन टोली बिहीबार अनुगमन गरेको थियो । अनुगमनमा बोतल वाटरको बढी मूल्य लिएको र म्याद नाघेका खानेकुरा बिक्री गरेको भेटेपछि सो बराबरको रकम जरिबाना गरेको हो ।
ठुलो परिणाममा म्याद नाघेका मासुका परिकार, पेय पदार्थ, बेकरी पदार्थलगायत नष्ट गरिएको विभागका अनुगमन निर्देशक डिकबहादुर कार्कीले बताउनुभयो । उक्त रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐनमा भएको व्यवस्था अनुसार विभागको अनुगमन अधिकृत नेतृत्वको टोलीले उक्त रेस्टुरेन्टलाई ‘अन दर स्पोर्ट’ जरिबाना तिराएको पनि उहाँले जानकारी दिनुभयो ।
विभागको अनुगमन टोलीले टोखास्थित होटेल एन्ड रेस्टुरेन्ट दर्ता नवीकरण नगरेको भेटिएपछि १५ हजार रुपियाँ जरिबाना गरेको छ । उक्त होटेलको दर्ता नवीकरण नगरेको र होटेलका लागि खरिद गरिने सामानको बिलबीजक व्यवस्थित नगरेको पाइएपछि अर्को पटक यसप्रकारको समस्या नदोहोर्याउने सर्तसहित सो बराबरको रकम जरिबाना गरेको विभागले जनाएको छ ।
टोखामा अनुगमनका क्रममा जुत्ताचप्पल पसल र अर्को रेडिमेड कपडा पसलको अनुगमन गरेर व्यवसाय दर्ताको कागजातसहित तीन दिनभित्र विभागमा उपस्थिति हुन निर्देशन दिएको छ ।