• २४ माघ २०८१, बिहिबार

गैँडाको आक्रमणबाट एकको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, माघ २४ गते । गैँडाको आक्रमणबाट नवलपुरमा थप एक जनाको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजो बुधबारदेखि हराइरहनुभएकी महिला आज मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ ।

देवचुली नगरपालिका –१ मिलनचोक निवासी ४७ वर्षिया राममाया सोतीको शव फेला परेको प्रहरीको भनाइ छ । उहाँको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल डण्डामा राखिएको छ । पोष्टमार्टमको रिपोर्ट आइनसकेको भए पनि गैँडाको आक्रमणबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो । 

चार जना साथीहरुसँगै बुधबार घाँस काट्न गएकामध्ये एक जनालाई गैँडाले आक्रमण गरी घाइते बनाएको थियो, अन्य दुई जना भाग्न सफल हुनु भएको थियो । एकजना बेपत्ता हुनु भएको थियो । स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज, सेनाको टोलीले निकुञ्जभित्र खोजी गर्ने क्रममा आज दिव्यमध्यवर्ती सामुदायिक वनभित्र सोतीको शव फेला पारेको हो ।

बुधबार घाइते हुनु भएकी ३३ वर्षीया कुमारी आलेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गत चैत यता दुई पटक गरेर निकुञ्जले नवलपुर क्षेत्रबाट १० वटा स्थानान्तरण गरेर चितवन लगे पनि जिल्लामा गैँडा आक्रमणका घटना रोकिएका छैनन् । 

असोज २३ गते कावासोतीको खरकट्टा जंगलमा गैँडासँग मोटर साइकल ठोक्किँदा दैलेखका दुई युवाको मृत्यु भएको थियो । त्यस्तै कात्तिक २० गते कावासोती नगरपालिका वडा ७ बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटे र मंसिर ८ गते मध्यविन्दु नगरपालिका वडा ६ भण्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट मृत्यु भएको थियो ।