• २४ माघ २०८१, बिहिबार

गाउँपालिकाद्वारा मजदुर सञ्चित कोष स्थापना

blog

म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ २४ गते । तनहुँको म्याग्दे गाउँपालिकाले मजदुर सञ्चय कोष स्थापना गरेको छ । आफ्नो पालिकावासी मजदुरको बचत गर्ने बानीको विकाससँगै सामाजिक सुरक्षाको प्रत्याभुती गर्न कोष स्थापना गरिएको हो ।

मजदुरका परिवारको शिक्षा, स्वास्थ्य, आवास, पोषण, मर्यादित रोजगारी, सम्मानपुर्वक जीवनयापनका लागि कोष स्थापना गरिएको म्याग्दे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कोषका लागि गाउँपालिकाले १५ लाख रुपियाँ व्यवस्था गरेको अधिकारीले बताउनुभयो । 

अधिकारीका अनुसार बचतको परिचालन, श्रमको सम्मान, उत्पादनकत्व अभिवृद्धि, सामाजिक आर्थिक विभेद अन्त्य, विपन्न मजदुर तथ्याङ्क सङ्कलनसँगै विकास निर्माणमा स्थानीय मजदुरलाई प्राथमिकता दिने उद्देश्यले स्थापना गरिएको हो ।  

मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि २०८१ बमोजिम पालिकाभित्रका १८ देखि ५९ वर्षका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरलाई लक्षित गरी कोष स्थापना गरिएको अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, "आर्थिक अवस्था कमजोर हुने मजदुर वर्गलाई लक्ष्य गरी मजदुर सञ्चित कोष स्थापना गरेका छौं ।" सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको १५ प्रतिशत पालिकाले र मजदुरको १५ प्रतिशत गरी ३० प्रतिशत सामाजिक सुरक्षाकोषमा योगदान गरिने भएको छ ।  

भुक्तानीको क्रममा रकम ज्यालाबाट १५ प्रतिशत कट्टा गरे पश्चात पालिकाको तर्फबाट १५ प्रतिशत रकम मजदुरको बैंक खातामा बचत गर्ने व्यवस्था गरिएको छ । उक्त मजदुरले पालिकाबाट थप हुने १५ प्रतिशत रकम बाहेक स्वास्थ्य बिमा लगायतका अन्य सुविधा समेत पाउने व्यवस्था गरिएको अधिकारीले बताउनुभयो ।

मजदुरका परिवारको आर्थिक अवस्था मजबुत बनाउन तथा उनीहरूको शिक्षा, स्वास्थ्य, आवास निर्माण, पोषण जस्ता आधारभूत आवश्यकताको सुनिश्चित गर्न कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ बताउनुहुन्छ । शिक्षा, स्वास्थ्य, आवास लगायतका मानवीय र सामाजिक विकासको अवस्था कमजोर भएका मजदुरका लागि ‘मजदुर सञ्चितकोष सञ्चालन कार्यविधि २०८१’ कोषको स्थापना गरिएको उहाँले बताउनुभयो । 

वडास्तरीय विपन्न मजदुर सिफारिस समितिले वडामा प्राप्त भएका निवेदनहरू मुल्याङ्कन गरी वास्तवीक विपन्न मजदुर छनाेट गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अनुसार उक्त कोष कार्यान्वयनमा ल्याउने म्याग्दे गाउँपालिका गण्डकी प्रदेशको दोश्रो र तनहुँको पहिलो स्थानीय तह हो । यस अघि स्याङजा जिल्लाको फेदीखोला गाउँपालिकाले उक्त कोष कार्यान्वयनमा ल्याएको थियो।

कोषमा सूचीकृत हुनको लागि यही माघ २८ गते भित्र निवेदन दिन पालिकाले सूचना जारी गरिसकेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, श्रम ऐन २०७४ को मर्म र भावना र व्यवस्था अनुसार अनौपचारिक क्षेत्र तर्फ मजदुर सञ्चित कोषमा सुचिकृत सँगै कार्यक्रममा सहभागी भएमा दिर्घकालिन रूपमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त सुरक्षा योजना, आश्रीत परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना लगायतका सुरक्षा तथा सुविधा प्रदान हुनेछ ।