• २४ माघ २०८१, बिहिबार

सडेको ४०० केजी मासु प्रहरीद्वारा नष्ट

blog

खान अयोग्य मासु नष्ट गर्दै प्रहरी । तस्विरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ २४ गते । हिमालपारिको जिल्ला मुस्ताङ लैजाँदै गरेको सडेको मासु प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । मुस्ताङ लगिएको झण्डै चारसय केजी मासु प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो । 

मुस्ताङको थासाङ गाउँपालिका –४ घाँसा चेकप्वाइन्टमा प्रहरी सहायक निरीक्षक विनयकुमार रेग्मीसहितको टोलीले शङ्का लागी चेकजाँच गर्दा मुस्ताङ ल्याउँदै गरेको मासु भेटेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जोमसोम पठाएको थियो । बा.प्र.०३–००१ च १३२९ नम्बरको पिकअप गाडीमा ल्याएको तीनसय केजी कुखुराको मासु र ७५ केजी बङ्गुरको तयारी मासु प्रहरीले नियन्त्रणमा लिएको थियो । 

मासु शङ्कास्पद लागेपछि परीक्षण गर्दा दुईसय ४० केजी कुखुराको मासु खान अयोग्य भएको पाइएकाले नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका डा. लालमणि अर्यालले मासु परीक्षण गरेपछि दुईसय ४० केजी कुखुराको मासु खान अयोग्य रहेको जानकारी गराउनुभएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । खान अयोग्य देखिएको मासुलाई आवश्यक प्रक्रिया पुर्‍याएर नष्ट गरिएको छ ।

मुस्ताङ आइपुगेको मासुको पशु क्वारेन्टाइन लगायतका कागजातहरु दुरुस्त रहेको भए पनि खान योग्य नरहेको अवस्थामा मासु भेटिएकाले नष्ट गरिएको जनाइएको छ । मुस्ताङका होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने अधिकांश मासु बाहिरी जिल्लाबाटै पुग्ने हुँदा खान अयोग्य भएको गुनासो आउने गरेको थियो ।