यदुप्रसाद भट्ट
मनाङ, माघ २४ गते । यही माघ २२ गतेबाट देशभर सुरु भएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियान मनाङमा पुग्न सकेको छैन । तोकिएको समयमा मनाङमा खोप अभियान सुरु हुन नसकेको हो ।
खोप अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप दिइने भए पनि यति बेला मनाङका विद्यालयमा जाडो बिदा दिइएकाले लक्षित विद्यार्थी समूह नभएका तथा अत्यधिक चिसोले गर्दा तोकिएकै समयमा खोप सञ्चालन गर्न नसकिएको प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
मनाङका चामे, नासोँ र मनाङ ङिस्याङ तीन गाउँपालिकामा आउँदो फागुन १८, १९ र २० गतेदेखि मात्रै खोप अभियान कार्यक्रम सञ्चालन हुने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नार्पाभूमि गाउँपालिका विकटमा रहेको त्यहाँ लक्षित विद्यालय उमेर समूहका विद्यार्थी तथा विद्यालयबाहिर रहेका किशोरी पनि नभएकाले खोप अभियान कार्यक्रम सञ्चालन हुने छैन । बाँकी अन्य तीन पालिकामा फागुन १८ देखि खोप अभियान सुरु गर्छौं ।’’
स्वास्थ्य मन्त्रालयले यो अभियान फागुन ५ गतेसम्म देशभर सञ्चालन हुने भने पनि मनाङ र मुस्ताङको हकमा यो लागु हुने छैन ।
नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठुलो अभियानका रूपमा यसलाई लिए पनि मनाङमा सबैभन्दा कम एक सय नौ जना मात्रै रहेका छन् ।
देशभरका करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखेको सरकारले मनाङमा यही माघ २८ गतेदेखि जिल्ला स्तरीय खोप योजना तर्जुमा गोष्ठी, खोप कार्यकर्ताको तालिम, जिल्ला तथा स्थानीय तहमा खोप समन्वयसम्बन्धी बैठकहरू सञ्चालन हुने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अन्य जिल्लामा एपिभी खोप सुरु भए पनि मनाङ सुरुवात भएको छैन । विद्यालय बन्द भएकाले सरकारले तोकेको समयमा खोप कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो । विद्यालय खुल्ने क्रममा छन् । खुलेपछि खोप कार्यक्रम सञ्चालन हुन्छ ।’’
श्रेष्ठका अनुसार प्रदेश स्तरको पोखरामा भएको गोष्ठीबाट माघ महिनामा गर्न नसकिने जानकारी गराएको र जाडो कम भएपछि विद्यालय खुलेको समयमा खोप अभियान सञ्चालन गर्ने सहमति भएको थियो ।
हालसम्मको तथ्याङ्कअनुसार एक सय नौ जना मात्रै रहेको भए पनि छुटफुट भएका तथा विद्यालय बाहिर रहेकाहरूलाई पनि मध्यनजर गरी १५० जनालाई पुग्ने गरी खोप लैजाने तयारी गरेको श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाभरमा जम्मा चार खोप केन्द्र हुने छन् । जसमा नासोँ गाउँपालिको प्रकाशज्योति मावि, चामे गाउँपालिकाको लोकप्रिय मावि र चामेको तिमाङमा रहेको गौरीशङ्कर आधारभूत विद्यालय तथा मनाङ ङिस्याङको अन्नपूर्ण मावि रहेका छन् ।
‘‘नार्पाभूमिबाटै पर्दैन भन्ने कुरा आयोे, त्यो समूहको किशोरीहरू पनि त्यहाँ नभएको जानकारी स्वास्थ्य शाखासँग समन्वय गर्दा पाइयो ।’’, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘‘स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य चौकी प्रमुख बसेर कुनै रहेछन् भने नार्पाभूमिमा पनि हामी खोप सञ्चालन गर्छौं ।’’