• २४ माघ २०८१, बिहिबार

पोखराको पर्यटन विकासका लागि स्विस कन्ट्रयाक्टले सघाउने

blog

सन्ताेष सुवेदी

कास्की, माघ २४ गते । पोखरा महानगरपालिका र स्विस कन्ट्रयाक्टबिच दिगो पर्यटन विकासका नीति तथा योजनाहरू निर्माणमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । पर्यटन राजधानी पोखराको पर्यटन विकासलाई गति दिँदै पर्यटन पूर्वाधार तथा पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूलाई थप व्यवस्थित बनाउन आवश्यक नीति तथा योजनाहरू निर्माण गर्ने समझदारी भएको हो ।

समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र पर्यटन, वन तथा वातावरण महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर विमल रञ्जन कार्की तथा स्विस कन्ट्रयाक्टको तर्फबाट कन्ट्री डिरेक्टर तथा टिल लिडर सञ्जय कार्की र निजी क्षेत्र विकास प्रबन्धक तिर्सना सिंह भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

परियोजनाले सकारात्मक वातावरणीय प्रभावहरू सिर्जना गर्दै पर्यटन क्षेत्रमा थप रोजगारी र आय सिर्जना गर्ने प्राथमिक लक्ष्य राखेको छ । महानगरपालिका क्षेत्रमा रहेका पर्यटन गन्तव्यहरूमा उद्यमशीलताको प्रवर्द्धनमा दिगो अभ्यास र दिगो पर्यटनका लागि गन्तव्यहरूको विकासमा समेत जोड दिनेछ ।

नगरप्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका पोखराको पर्यटन विकास र प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्षेत्र भएका र पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गरिरहेका सङ्घसंस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्न सदैव तत्पर रहेको बताउनुभयो । 

पोखराको ब्राण्डिङ र प्रचारप्रसारसहित दिगो पर्यटन विकासका योजनाहरू निर्माणमा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।