गुणबहादुर रोका
सुलीकोट, माघ २४ गते । गोरखामा वृद्धभत्ता बुझेर घर फर्कने क्रममा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका – ४ धाबास्थित काशीखोलाका ७७ वर्षीय चूडामणि काप्रीको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रहरी निरीक्षक नवीन गिरीले जानकारी दिनुभयो ।
आइतबार घरबाट वृद्धभत्ता बुझ्न निस्किएका काप्री घर नफिकएपछि खोजतलास गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीबार बिहान फेला परेको उहाँले बताउनुभयो ।
भीमसेन थापा गाउँपालिकाको मुख्य बजार घ्याम्पेसाल रहेको बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उहाँको वडा नम्बर २ को बगुवा खेत जाने बाटोमा पर्ने सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय आरुघाट गोरखाले जनाएको छ ।
काप्रीको शव बाटोदेखि झण्डै दुई सय ५० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । वृद्ध भत्ता बुझेर घर नफर्किएपछि आफन्तले सोही दिनदेखि प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्दासमेत भेटिएको थिएन ।
स्थानीय र प्रहरीले खोजतलास गर्ने क्रममा आज ७ बजे शव फेला परेको हो । शव फेला पारेपछि घटनास्थलमा प्रहरी टोलीले शवको मुचुल्का बनाएर अन्त्येष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।