गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २४ गते । सेन्टर फर नेप्लिज कल्चर एन्ड नेपाल सेन्टर युकेले बेलायतको वेस्ट मिनिस्टरस्थित हाउस अफ लडर्समा हिमालयन अवार्ड वितरण गरेको छ । संस्कृति, पर्यटन, नवप्रवर्तन र सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सात जनालाई सम्मानित गरेको छ ।
सम्मानित हुनेमा किशोर कायस्थ (नेपाल), रुविना शर्मा (बेल्जियम), देवी गर्बुजा (पोर्चुगल), डा. विनिता कपुर (भारत), राजेश रेग्मी (बेलायत), स्नेहा श्रेष्ठ (बेलायत), सुमन्त बत्रा (भारत) हुनुहुन्छ । हाउस अफ लड्र्सकी सदस्य ब्यारोनेस वर्माले पुरस्कार वितरण गर्दै नेपालको समृद्ध सांस्कृतिक विविधता र त्यसलाई कसरी सामाजिक–आर्थिक विकासमा रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा मन्तव्य राख्नुभयो ।
पुरस्कृत हुने ब्यारिस्टर स्नेहा श्रेष्ठले नेपालमा अथाह मनमोहक प्राकृतिक सौन्दर्य र विविध सांस्कृतिक सम्पदा रहेको बताउँदै भ्रमण गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा ग्रिनविचका मेयर काउन्सलर जित रानाभाट, लेफ्टिनेन्ट कर्नल टोल खाम्चालगायतले आआफ्ना विचार व्यक्त गर्नुभएको थियो ।