बिकास अधिकारी
पश्चिम नवलपरासी, फागुन १९ गते । पश्चिम नवलपरासीमा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मतगणनाका लागि दुई वटा निर्वाचन क्षेत्रमा तारजालीसहित सिसी क्यामेरा जडान गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर एकमा बर्दघाट नगरपालिकाको बाढीपीडितमा रहेको पुरानो भवन र क्षेत्र नम्बर दुईमा जिल्ला समन्वय समितिको हलमा मतगणनाका लागी तयारी गरिएको छ । तारजाली लगाएर सिसि क्यामेरा जडान भइसकेको र आज सुरक्षा निकायले स्थलगत रुपमा आवश्यक निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
सरकारी कर्मचारीबाहेक दलका प्रतिनिधि र उम्मेदवारलाई जाली बाहिर राख्ने र निर्वाचनमा खटिएका कर्मचारीमात्र जालीभित्र रहने गरी व्यवस्था मिलाइएको छ । तारजाली वा घेरिएको मतगणनास्थलमा निर्वाचनमा खटिएका कर्मचारी मतपत्रको सुरक्षाका लागि भित्र रहने छन् भने दलका प्रतिनिधि र अन्य प्रतिनिधि जाली बाहिरका घेरामा बसेर मतगणना हेर्नेछन् ।
जिल्लामा १ सय २२ मतदान स्थल अन्तर्गत २९७ मतदान केन्द्र छन् । ती केन्द्रमा प्रति केन्द्र ६ जनाको दरले कुल १ हजार ७८२ जना कर्मचारी खटिएका छन् । भोलि सम्म सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुग्नेछन् ।