• २४ माघ २०८१, बिहिबार

निरोगी नेपाल अभियान

blog

धन के हो भन्नेबारेमा धेरै बहस हुने गर्छ । कतिपयले भौतिक आर्जन नै धन हो भन्ने गर्छन् । भौतिक आर्जन धन त होला तर सबैभन्दा ठुलो धन चाहिँ मानिसका निम्ति उसको स्वास्थ्य हो । स्वस्थ मानिसले नै शारीरिक र मानसिक रूपमा चिताएको काम गर्न सक्छ । रोगी मानिसले हरेक क्षण रोगसँग लड्नु पर्छ । अनेक औषधीमुलो गर्नु पर्छ । औषधीमुलो सस्तो छैन । आधुनिकीकरणले स्वास्थ्यको सुविधा त आविष्कार र विस्तार गरेको छ तर सर्वसाधारणको पहुँच कठिन छ । अहिलेको दुनियाँमा कतै पनि स्वास्थ्य उपचार सस्तो छैन । सरकारका अनेक प्रयास भए पनि स्वास्थ्य र शिक्षा नै सबैभन्दा महँगो हुँदै गएको छ । गुणस्तरीय शिक्षा र स्वास्थ्यका निम्ति ठुलो धनराशि खर्च गर्नुपर्ने हुन्छ । रोग लागेपछि उपचार त गर्नै पर्छ । त्यसका निम्ति मानिसको घरखेत सबै स्वाहा भएका अनेक घटना छन् । त्यसैले रोग लागेर उपचारमा भौँतारिनुभन्दा रोग लाग्नै नदिने उपाय अब्बल विकल्प हो । नेपालले अहिले अघि सारेको निरोगी नेपाल अभियानको गहन महत्व छ ।

निरोगी नेपाल अभियान अन्तर्गत नै मङ्गलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप शुभारम्भ गरिएको छ । ‘ह्युमन प्यापिलोमा भाइरस’ अर्थात् ‘एचपिभी’ विरुद्धको यो खोप अति नै उपयोगी मान्नुपर्ने हुन्छ । नेपालमा पनि धेरै महिला पाठेघरको क्यान्सरबाट पीडित छन् । यसको उपचार सहज छैन । ठुलो धनराशि खर्च हुन्छ । कतिपय महिला यही क्यान्सरकै कारण ज्यान गुमाउन पुग्छन् । मानिसको पहिलो उत्पत्तिघर नै पाठेघर हो । मातृत्व प्राप्त गर्ने पाठेघरमा भाइरसको सङ्क्रमण भई क्यान्सर जस्तो जघन्य रोग लाग्ने गर्छ । यसलाई रोक्ने उपाय अहिले आइसकेको छ । अब विगतमा जस्तो कैयौँ आमाले झैँ पाठेघरको क्यान्सरबाट ज्यान गुमाउनुपर्ने छैन । किशोरी अवस्थामै दिइने ‘एचपिभी’ खोपले महिलालाई जीवनभर पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सक्छ । रोग लाग्नुभन्दा अगावै खोप दिई अनेक रोगबाट विश्व मानव समाजले मुक्ति पाएको छ । अब नेपाली किशोरीले आगामी दिनमा पाठेघरको क्यान्सरबाट पीडित हुनुपर्ने छैन । सरकारले देशका सबै किशोरीलाई उच्च प्राथमिकताका साथ पाठेघरको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । 

कक्षा ६ देखि १० सम्मका सबै छात्रालाई ‘एचपिभी’ विरुद्धको खोप दिइएको छ । कतिपय किशोरी विद्यालय जान सकेका छैनन् । बाध्यताले विद्यालयबाहिर पनि हुन सक्ने भन्दै १० देखि १४ वर्ष उमेरका बालिकालाई यो खोपमा समेटिएको छ । निरोगी नेपालीका निम्ति यो महìवपूर्ण प्रयास हो । सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय रणनीति नै बनाएको छ । उक्त रणनीतिमा (९०–७०–९०) को लक्ष्य राखिएको छ । यो रणनीतिमा नेपाल पनि अगाडि बढेको छ ।  नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा ‘एचपिभी’ खोप लगाइसक्ने छ भने ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक खोप दिइने छ । त्यसै गरी  ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्नुका साथै क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ । 

खोप अभियान आरम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयास गरिरहेको स्पष्ट पार्नुभएको छ । उहाँले सरकारको स्वास्थ्य नीतिको सविस्तार गर्दै निरोगी नेपालको नारा लिएको स्पष्ट पार्नुभयो । निरोगी नेपालका मूलतः दुई आयाम छन् । पहिलो त मानिस बिरामी नै हुन नपरोस् भनेर बहुआयामिक र व्यापक प्रयास थालिएको छ । ‘एचपिभी’ खोप त्यसैको स्वरूप हो । निरोगी नेपालका निम्ति खानपान, आहारविहार आदिमा ध्यान दिइने छ । दोस्रो, बिरामी भइगए उपचारका निम्ति प्रबन्ध गरिएको छ । स्वास्थ्य बिमालगायतका प्रयासले स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार गरिएको छ । वास्तवमा पोसिलो र सन्तुलित खाना स्वास्थ्यका निम्ति पहिलो आवश्यकता हो । बढ्दो जनसङ्ख्यालाई बढी खाद्यान्न उत्पादन गर्न विश्वभर रासायनिक मलको बढी प्रयोगले परम्परागत खाद्य र पोषण शृङ्खलामा गम्भीर चुनौती थपेको छ । त्यसमा कीटनाशक औषधीको असन्तुलित प्रयोगले रोगव्याधि बढाएको छ । पोसिलो खानपानमा अवरोध उत्पन्न गरेको छ । अर्गानिक खानपानतिरको अभियानलाई बिस्तारै अगाडि बढाउँदा पोसिलो खानपानको आधार बन्न सक्छ । यसबाटै निरोगी नेपालका दीर्घकालीन लक्ष्यमा पुग्न सहज हुने देखिन्छ ।