• २४ माघ २०८१, बिहिबार

राजस्व चुहावट नियन्त्रण गर्न समन्वय आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २४ गते । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायबिच केन्द्रदेखि स्थानीयस्तरसम्मै समन्वय एवं सहकार्य गर्नुपर्नेमा जोड दिएको छ । 

बुधबार बसेको समितिको बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विन्दु वरपरको क्षेत्रका साथै वैकल्पिक मार्गबाट हुन सक्ने अवैध निकासीपैठारी नियन्त्रणतर्फ विशेष ध्यान दिनुपर्ने र सबै निकाय जिम्मेवारपूर्ण ढङ्गबाट सक्रिय भएर लाग्दा अवैध कारोबारको नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । 

अर्थ सचिव डा. रामप्रसाद घिमिरेले आयातनिर्यात हुने वस्तुको अवस्था, वर्गीकरण र प्रयोगलगायतका विषयमा विभिन्न निकायबिचको बुझाइमा एकरूपता हुन जरुरी रहेको उल्लेख गर्दै तथ्यपरक सूचनाका आधारमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले वस्तु उत्पादन र आयातको स्रोतमै नियमन गर्न सक्दा अवैध कारोबारलाई नियन्त्रण गर्न सहज हुने बताउँदै समितिको बैठकमा सम्बद्ध अधिकारीबाट गरिएको प्रतिबद्धता कार्यान्वयनको तहमा समेत प्रतिविम्बित हुने विश्वास व्यक्त गर्नुभयो । बैठकमा सहभागी अधिकारीहरूले अवैध निकासीपैठारी नियन्त्रणमा क्रमशः सुधार आए पनि सार्थक नतिजाका लागि थप पहल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरूले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै बजार अनुगमनलाई बढाउनुपर्ने र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका निकायका अधिकारीको सहभागिता थियो ।