सन्तोष सुवेदी
कास्की, माघ २३ गते । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरामा कोटीहोम आयोजना गर्न अनुमति नभएको बताउनुभएको छ । पर्यटकीय नगरी पोखरामा लामो समयसम्म ध्वनि प्रदूषण हुने किसिमको कार्यक्रम सञ्चालन गर्न नदिइने बताउनुभयो ।
कोटीहोम गर्न स्थानीय प्रशासन, महानगर कसैले पनि स्वीकृति नलिएको भन्दै मेयर आचार्यले तालछेउमा चार महिना लामो कोटीहोम गर्न असम्भव भएको बताएका छन् । “पोखराको ताल छेउमा कोटीहोम महायज्ञ हुन सक्दैन । त्यसैमाथि प्रशासनले स्वीकृति दिएको छैन । कोटीहोमको धुँवाले वायु प्रदूषण हुन्छ, जसले हवाइ उडानलाई समेत असर गर्छ” उहाँले भन्नुभयो । मेयर आचार्यले पुम्दीकोट र सराङकोटमा महायज्ञ हुने बताउनुभयो ।
कोटीहोम आयोजना गर्ने भन्दै मानव सेवा फाउण्डेशनले पोखरामा रहेको वरपीपल ठुट्याएर दाउरा सङ्कलन गरेपछि पोखरा महानगर एक्सनमा आएको हो । सोही क्रममा फाउण्डेशनले उक्त दाउरा जफत गर्ने मेयर आचार्यले बताउनुभयो ।