प्रविधिका सहायताले बढीभन्दा बढी मानिससमक्ष सूचना, मनोरञ्जन, विज्ञापन जस्ता विभिन्न विषयवस्तु सम्प्रेषण गर्ने बृहत् प्रक्रिया आमसञ्चार हो । पुस्तक, पत्रपत्रिका, रेडियो, टेलिभिजन जस्ता परम्परागत मिडिया मात्र होइन आजका इन्टरनेट जडित डिजिटल मिडिया पनि आमसञ्चारका साधन हुन् । मूलतः आमसञ्चार व्यापक स्तरमा सन्देश प्रवाह गर्ने प्रव्रिmया हो, जस अन्तर्गतको एउटा विधा पत्रकारिता हो ।
आमसञ्चार विधाले स्वाभाविक रूपमा समाजभित्रको विविधता र समावेशिताको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने हुन्छ । किनभने यस बृहत् प्रक्रियाले समाजको बहुआयामिकताको प्रतिनिधित्व गर्छ । नेपाली समाजको सन्दर्भमा हाम्रो राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा जुन विविधता विद्यमान छ, त्यसको यथाशक्य प्रतिविम्बन गर्नु नेपाली आमसञ्चार क्षेत्रको दायित्व हो । नेपाली समाजमा लामो समयदेखि राजनीतिक, आर्थिक एवं सामाजिक भिन्नता बलियो अवस्थामा छन् । सम्बोधन नगरिएका भिन्नताले अनेक प्रकारका अवाञ्छित अन्तरविरोध तथा दृश्य र अदृश्य द्वन्द्वलाई बढावा दिन्छन् । विविधता र विभिन्न तहमा देखिने र नदेखिने द्वन्द्वलाई नकारात्मक रूपमा बुझ्नु हुन्न । किनभने तिनीहरू हाम्रै मनको स्वभावबाट उत्पादन हुन्छन् । मानव प्रकृतिको उत्पादन भएकाले द्वन्द्व पनि प्राकृतिक नै हुन्छ तर तिनको व्यवस्थापनबाट सामूहिक हित सुनिश्चित गर्ने प्रयत्न आवश्यक छ ।
द्वन्द्व मानव चिन्तनको अन्तर्निहित विशेषता भएकाले यसलाई भौतिक वा अभौतिक रूपले समाप्त पार्न सकिन्न तर व्यवस्थापनद्वारा आपसी लाभ हासिल गर्न सकिन्छ । द्वन्द्व आधारभूत अर्थमा दृष्टिकोणको भिन्नता हो । यद्यपि चिन्तनगत भिन्नताबाट प्रकट हुने विवाद, हिंसा वा युद्धलाई समेत कतिपयले द्वन्द्वको रूपमा बुझ्ने गर्छन् । ती त वास्तवमा द्वन्द्वका लक्षणहरू एवं असर हुन । फरक भूगोल, फरक सामाजिक पृष्ठभूमि र फरक राजनीतिक पात्रहरू समाजमा हुनु जति स्वाभाविक छ, त्यति नै स्वाभाविक द्वन्द्व हुन्छ । राजनीतिक, आर्थिक र सामाजिक प्रणालीहरूमा हुन जाने भिन्नता र कर्ताहरूको चिन्तनको स्तरमा हुने भिन्नताले मानिसहरूमा भिन्दाभिन्दै मनोवैज्ञानिक ढाँचाको निर्माण हुन पुग्छ । त्यस्ता भिन्नतालाई खारेर निकालिएको संश्लेषित ज्ञानको जगमा टेकेर समाज रूपान्तरणको बाटो अख्तियार गर्न सक्नु चाहिँ समाजका लागि फलदायी विषय हुन्छ । हो यसैतर्फ अहम् भूमिका खेल्ने हुनाले आमसञ्चारमा विविधता र समावेशिताको ठुलो महत्व हुन्छ ।
यसै सन्दर्भमा विविधतालाई मानव जीवनको द्वन्द्वात्मक प्रकृतिको रूपमा पनि बुझ्न सकिन्छ । त्यसैले त मानव सञ्चारमा हामीले नचाहे पनि द्वन्द्वात्मक पक्ष प्रबल भएर आउँछ । आमसञ्चारको छातामुनि अभ्यास गरिने पत्रकारितालाई आरोप लाग्ने गर्छ, द्वन्द्वको व्यापार बढी ग¥यो भनेर । मिडियाहरू माझ प्रतिस्पर्धा हुने हुँदा यसमा आंशिक सत्यता हुन्छ नै तर द्वन्द्वलाई उजागर गर्नु भनेको शान्तिपूर्ण र आपसी हितलक्षित व्यवस्थापनको दृष्टिकोणले फलदायी हुने सकारात्मक चिन्तन पनि कम महìवपूर्ण हुँदैन । भित्रभित्र सल्किने भुसको आगो जस्तो समाज भयो भने त्यहाँ कसैको हित हुँदैन । लुकेको समस्या बाहिर ल्याएर समाधान निकाल्न सरोकारवाला पक्षलाई सघाउनु आमसञ्चार क्षेत्र र अझ विशेषतः पत्रकारिता क्षेत्रको त नियमित कार्य नै हो ।
यदि मिडियाभित्रका कर्ताहरूले मनसायवश द्वन्द्व र विभाजनलाई उक्स्याउने चेष्टा गरेमा भने सो कुरा निन्दनीय हुन्छ । नत्र, सामान्यतया विविधतालाई मानव समाजकै एक विशेषता हो भन्ने स्पष्ट नै छ । विविधता समस्या होइन, समाधानको खानी हो । विविधताभित्र द्वन्द्वात्मकता निहित हुने हुँदा यसले हाम्रो समाजलाई गतिशील र ऊर्जावान् बनाउँछ । त्यसैले विविधताको यथाशक्य सदुपयोग गर्ने वातावरण निर्माणमा सहयोग पुग्ने गरी आमसञ्चारका क्रियाकलाप गर्नु महìवपूर्ण हुन्छ ।
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, एवं बहुभाषिक समाज हो भनेर नेपालको संविधानले स्पष्ट रूपले बोलेको छ । यस प्रकार हाम्रो संविधानले पनि यहाँको विविधतालाई समेटेको छ । तर विविधतालाई संविधानमा स्वीकार्नु मात्र पर्याप्त हुँदैन । राज्यका औपचारिक संरचनाले उपयुक्त नीति निर्माण र कार्यान्वयनपट्टि यथेष्ट ध्यान दिउन भनेरै आमसञ्चार क्षेत्रले विविधता र समवेशिताको सिद्धान्त अनुरूप सूचना सम्प्रेषण गर्नु पर्छ भनिएको हो । लैङ्गिकता, उमेर, मानसिक, नैतिक एवं शारीरिक क्षमता, विचार, ज्ञान, सिप, कल्पनाशीलता, सिर्जनात्मकता, पेसा तथा व्यवसाय, आम्दानीसम्बन्धी विद्यमान भिन्नतालाई पनि विविधता र समावेशिताको सैद्धान्तिक दृष्टिकोणबाट हेरिनु पर्छ । प्राकृतिक विविधता त झन् गहन महत्वको हुन्छ । अझ बजार अर्थतन्त्रका दृष्टिले त ती सबै भिन्नता नाफाप्रवर्धक पुँजी हुन् । समसामयिक महत्व र सन्दर्भका आधारमा आमसञ्चार क्षेत्रले यस्ता अनेक प्रकारका विविधतालाई समेट्नु कम चुनौतीपूर्ण कार्य होइन ।
आजको सन्दर्भमा जनतामा पर्ने प्रभावका दृष्टिले चलचित्र अत्यन्त सशक्त आमसञ्चारको माध्यम हो । यस कारण चलचित्र वृत्तले केवल संवेगात्मक बजारले माग गरेको क्षणिक मनोरञ्जन सेवा दिएर आर्थिक लाभ हासिल गर्न सक्नुलाई मात्र सफलताको मापदण्ड ठान्नुभन्दा चलचित्रलाई जनताको वैचारिक, सांस्कृतिक र नैतिक सशक्तीकरण उन्मुख आमसञ्चार प्रक्रियाको रूपमा आत्मसात् गर्नु बढी न्यायोचित हुन्छ । मानव सञ्चारका विविध सिप र क्षमताको बेजोड समिश्रणले सुसज्जित चलचित्रको सामाजिक उत्तरदायित्व पनि त्यत्तिकै गहन हुन्छ । दर्शकरूपी जनसमुदायका निम्ति बनाइने चलचित्र सामाजिक मनोविज्ञानको निकृष्टीकरण गर्न होइन बरु गुणवर्धनका निम्ति हुनु पर्छ भन्ने मान्यतालाई कसैले अस्वीकार गर्न सक्दैन । अनगन्ती विषयवस्तु, सन्दर्भ, प्रस्तुतीकरणका शैली र परिकल्पना उपलब्ध हुने कारणले विविधता र समावेशिता अपनाउने ठाउँमा नेपाली चलचित्र जगत् छ नै । चलचित्रको जग कला हो, जसलाई समाजको अन्तर्वस्तुले सामाजिक औचित्य प्रदान गर्छ । तसर्थ कला कलाको निम्ति मात्र हुनुहुन्न, प्रापकको दिलदिमागमा सम्प्रेषित हुने विषयवस्तुको सारसमेत आवश्यक पर्छ । आमसञ्चारको रूपमा नेपाली चलचित्र जगत्ले विचार पु¥याउनु पर्ने कुरा हो यो ।
आमसञ्चारको मानव केन्द्रित सारवस्तु उही रहे पनि आमसञ्चारका साधन र प्रविधिमा व्यापक परिवर्तन आइरहेको छ । प्रविधि तथा माध्यममा आउने परिवर्तनले विषयवस्तु र त्यसको सम्प्रेषणमा समेत प्रभाव पार्छ । जति बढी भौतिक परिवर्तन आउँछ, सुविधा थपिन्छ त्यति नै मात्रामा मनले प्रतिक्रियाको शृङ्खला निर्माण गर्छ । फलतः हाम्रो महत्वाकाङ्क्षा चुलिन्छ र असीमित आवश्यकताको चाङ लाग्छ । यस्तो अवस्थामा विविधता झन् व्यापक हुने हुँदा आमसञ्चारमा सो कुरा सम्बोधन हुनु आवश्यक छ ।
तराई, पहाड र हिमालमा सदियौँदेखि उत्पीडनमा परेका र हाल पनि मूलधारमा समाविष्ट हुन नपाएका नेपाली जनसमुदायका बँचेखुचेका परम्परागत ज्ञान, सिप र कला के के छन्, तिनको खोजअनुसन्धानमा राज्यले मनग्य लगानी गर्न सक्नु पर्छ । प्रभावकारी नीति, कार्यक्रम र कार्यान्वयनका निम्ति विषयकेन्द्रित विज्ञहरूद्वारा खोज अनुसन्धान गराई प्राप्त सिफारिसका आधारमा कदम चाल्नु आवश्यक छ । यसका लागि आमसञ्चार जगत्ले त्यसमा पनि विशेषतः पत्रकारिता फाँटले नेपाली समाजको विविधताभित्र अपार सम्भाव्यता र उत्पादकत्व लुकेको छ भन्ने सम्बन्धमा अनवरत रूपमा सूचना सम्प्रेषण गर्नु सार्थक हुन्छ । निरन्तर सूचना सम्प्रेषण र प्रभावकारी बहसमार्फत विविधतालाई आत्मसात् गर्न राज्य र अन्य सरोकारवाला पक्षमाथि मानसिक दबाब सिर्जना गर्नु आमसञ्चार जगत्को आवश्यक जिम्मेवारीभित्र पर्छ । यस प्रकार विविधताबाट लाभ उठाउन राज्यको लगानी चाहिन्छ ।
प्रदेश संरचनाको कार्यसम्पादनप्रति आमसञ्चार माध्यमले पर्याप्त चासो राखेर विविधता र समावेशितालाई ध्यान दिँदै धरातलीय सूचनाको खोजतलास गर्नु आवश्यक छ । मिडियाको सङ्ख्या धेरै हुने तर प्रायः सिन्डिकेट शैलीमा एकै खालको, अस्पष्ट, सीमित र सङ्क्षिप्त सूचना उपलब्ध हुने स्थितिले आमसञ्चारमा विविधता र समावेशिताको मर्म ओझेलमा पर्न जान्छ । विशेष गरी नेटवर्कवाला रेडियोहरूले यो विचार गर्नु जरुरी छ । विविधताको नाममा धेरै कुरा छ्वास्स छुने तर समाचारको सन्दर्भ र प्रयोजनसम्बन्धी यकिन बोध नहुने किसिमको सूचना नागरिकले पाउँदा समाचार लेखनको प्रभाव कमजोर बन्न पुग्छ । यसर्थ गहन समाचारमूलक सामग्रीका लागि अलि बढी मेहनत चाहिन्छ । विविधता पुँजी हो, जसको परिचालन गरेर समग्र राष्ट्रलाई समुन्नत बनाउन सकिन्छ । एकात्मक चिन्तन र संस्कृतिलाई सबै क्षेत्रमा त्यागेर बलियो राष्ट्रिय एकता कायम गर्न पनि आमसञ्चारमा अपनाइने विविधता र समावेशिताको सिद्धान्तले टेवा दिन्छ ।