• ३ मंसिर २०८२, बुधबार

कारको ठक्करबाट एकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, मङ्सिर ३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–११, रायमाझी चोक नजिक कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा बागमती नगरपालिका–४, प्रसाई टोल बस्ने ५० वर्षीय केशव शिवाकोटीको मृत्यु भएको हो । शिवाकोटीलाई मङ्गलबार राति बागमतीमा बालाचतुर्दशी मेला हेरेर घरतर्फ फर्कंदै गर्दा नम्बर खुल्न नसकेको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । 

कारको ठक्करबाट गम्भीर घाइते भएका शिवाकोटीको उपचारका क्रममा बुधबार बिहान न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको कारले बागमती प्रदेश ०३–००१ ख ३४५५ नम्बरको यात्रुवाहक बसलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय हरिवनका वरिष्ठ प्रहरी नायब निरीक्षक दीपेन्द्र मल्लले दुर्घटनामा संलग्न कारको खोजी भइरहेको जानकारी दिनुभयो । उहाँले दुर्घटना गराएर फरार कारको पहिचान भइसकेको बताउनुभयाे । 

मानिसको मृत्यु हुने गरी दुर्घटना गराएर कार र चालक फरार भएपछि घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का आफैँ बुधबार बिहान बागमती आइपुग्नुभएको छ ।