सुधा देव
भारदह(सप्तरी), मङ्सिर ३ गते । सप्तरी जिल्लामा ११ हजार ६ सय ७७ जना नयाँ मतदाता थपिएको छ । नयाँ मतदातामध्ये अधिकांश युवा छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्याङ्क अनुसार ११ हजार ६ सय ७७ जना नयाँ मतदानमा ६ हजार एक सय ८९ पुरूष र पाँच हजार चार सय ८८ जना महिला रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले गत असोज १० गतेदेखि नयाँ मतदाता नामावली दर्ता गर्न सुरू गरेपछि असोज महिनामा एक हजार आठ सय ६४ जना र कात्तिक ३० गतेसम्म नौ हजार आठ सय १३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका सूचना अधिकृत मालती राईले जानकारी दिनुभएको छ ।
सप्तरीमा विभिन्न उमेरकाले मतदाता नामावलीमा नाम दर्ता गर्न आए पनि नयाँ पुस्ताका मतदाता आउने गरेको निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सुरूमा मतदाता नामावलीमा नाम दर्ता गराउन फाट्टफुट्ट आए पनि पछिल्लो समय आउने सङ्ख्यामा वृद्धि भएकाले कार्यालयमा भिडभाड बढेको छ ।’’
पहिलो चरण असोज मसान्तसम्म र दोस्रो चरण कात्तिक मसान्तसम्म दर्ता गर्ने भनिए पनि समय बढाएर मङ्सिर ५ गतेसम्मका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समय निर्धारण गरिएको छ ।
यसपालि मतदाता नामावलीमा नाम दर्ता गराएर पहिलो पटक मतदान गर्न योग्य भएकोमा गौरव महसुस भइरहेको यसैपालि मतदाता नामावलीमा नाम दर्ता गराउनुभएका बैजु यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यसपालि मतदाता नामावलीमा नाम दर्ता गराएका युवाहरू उत्सुक र खुशी देखिन्छन् ।’’
यसअघि जिल्लामा मतदाताको सङ्ख्या चारलाख १८ हजार सात सय ८२ थियोे । नयाँ मतदाता थपिएपछि अहिले जिल्लाको मतदाता सङ्ख्या चार लाख ३० हजार चार सय ५९ पुगेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।