कृष्णराज खनाल
राले (अमेरिका), माघ २३ गते । अमेरिकाको सबैभन्दा प्रतिष्ठित र सर्वाधिक चर्चित अमेरिकी फुटबल भनेर चिनिने सुपल बउलको फाइनल खेल आगामी आइतबार हुने भएको छ ।
सुपर बउलको यो ५९ औँ संस्करण हो । सुपर बउल १९६७ मा सुरु भएको थियो । दुवै प्रतिस्पर्धी टिम मङ्गलबार लुजियाना पुगिसकेका छन् ।
न्यु ओर्लियन्स राज्यको लुजियानास्थित सिजर्स सुपरडोममा हुने सो फाइनल प्रतिस्पर्धा कन्सास सिटीको सेफ्स र फिलाडेल्फियाको इगल्सबिच हुनेछ । यस अघि कन्सासले टेक्ससको डेट्रोइट लाइन्सलाई र इगल्सले लस एन्जल्सको र्यामलाई सेमिफाइनलमा पराजित गरेका थिए । दुइ पटक लगातार विजयी कन्सासको सेफ्सले फाइनल खेल्न लागेको यो तेस्रो सुपर बउल हो । अधिकांश प्रशिक्षक तथा यो खेलका विश्लेषकहरुले कन्सासले यो पटक पनि लोम्वार्डी ट्रफी उचालेर इतिहास रच्ने भविष्यवाणी गरेका छन् ।
नेसनल फुटबल कन्फिरेन्सले आयोजना गरेको यो खेलमा अमेरिकाका ३२ टिमको सहभागिता रहेको थियो ।
सातवटा सुपरवउल सफलतापूर्वक सम्पन्न गरिसकेको सिजर्स सुपरडोम सन् १९७५ मा बनेको हो र यसको दर्शक क्षमता ७६ हजार रहेको छ ।
टिकट मूल्य पनि महँगो
सुपर बउल हेर्न जानेको भीड लागिसकेको छ । अहिले न्यु ओर्लियन्सको लुजियानास्थित साना तथा ठुला तारे होटलसम्म सबैजसो कोठा लगभग बुक भइसकेका छन् । यी दुई क्लवका फ्यानको उपस्थितिलाई नियमन गर्न लुजियानालाई हम्मे हम्मे परिरहेको छ । अझ त्यसमाथि राष्ट्रपति डोनाल्ड ट्रम्प पनि जानुहुने भएबाट यसको सुरक्षा चुनौती अझ थपिएको छ । शान्ति सुरक्षा कायम राख्न हजारौँको सङ्ख्यामा प्रहरीहरु तैनाथी अवस्थामा रहेका छन् ।
एकजना दर्शकको टिकटको मूल्य कति पर्दो हो ? यति धेरै पैसा तिरेर पनि किन मानिसहरु खेल हेर्न जाने होलान् भनेर हामीलाई आश्चर्य पनि लाग्छ तर त्यसो होइन । संसारभरि खेल हेर्नका लागि फ्यानहरुको ताँती लाग्छ । बस्ने सिटको स्थानको अवस्थितिका आधारमा यसको मूल्य तोकिने गरिन्छ । नेसनल फुटबल लिगको आधिकारिक मार्केट प्लेस र सेकेण्डरी मार्केटमा सबैभन्दा सस्तो टिकटको मूल्य ४८ सय अमेरिकी डलर तोकिएको छ भने त्यही आसपासको स्थानको मूल्य ६५ सय डलर छ । अरु सामान्य टिकटको मूल्य १५ हजार डलर छ भने सबैभन्दा महँगो टिकटको मूल्य ३० हजार डलर रहेको गेमटाइम टिकट रिसेल एपले जनाएको छ ।
महँगो विज्ञापन
तपाईँ अनुमान गर्न सक्नुहुन्छ ? यो खेलको दौरान टेलिभिजनमा आउने विज्ञापन र खेल अघि वा पछि आउने विज्ञापनको रकम कति छ ? अहँ सक्नुहुन्न । तपाईँ हामीले सोचेभन्दा एकदमै बढी रकम छ । यो खेलको दौरानको विज्ञापन ३० सेकेण्डको करिब ७० लाख अमेरिकी डलर लाग्दछ । अझ कतिपयले त ८० लाख समेत तिर्नुपर्ने अवस्था छ । यस हिसाबले एक सेकेण्ड विज्ञापन वापत दुइ लाख ३३ हजारभन्दा बढी डलर दिनुपर्नेछ । तर खेल अघि र पछि भने यो रकम अलिक कम छ । युएस टुडेको एड मिटरले जनाए अनुसार, खेल सुरु हुनु अघि ३० सेकेण्डको ४५ लाख र खेलपछि ४० लाख डलरसम्म पर्नेछ ।
एड मिटरका अनुसार, सन् १९६७ मा यो खेल सुरु हुँदा ३० सेकेण्डको मूल्य ३७ हजार थियो भने १९८० मा दुइ लाख २२ हजार, २००० मा २१ लाख, २०१० मा तीस लाख र २०२० मा यो रकम ५६ लाख डलरसम्म पुगेको थियो । यो खेलका मुख्य प्रायोजकमा वडवाइजर, डोरिटोज्, उवर इट्स, गो ड्याडी, किया, होण्डा तथा टोयोटा आदि रहेका छन् ।
राष्ट्रपति ट्रम्प पनि खेल हेर्न जाने
सुपर वउलको फाइनल खेल हेर्न र खेलाडीहरुलाई हौसला प्रदान गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प न्यु ओर्लियन्सको सुपरडोम जानुहुने भएको छ । अमेरिकाका विभिन्न प्रतिष्ठित समाचारपत्रहरुले यो कुरालाई महत्त्वका साथ प्रचार प्रसार गरेका छन् । राष्ट्रपति ट्रम्प शनिबार त्यसतर्फ जानुहुनेछ । सुपर बउल खेल हेर्न जाने उहाँ पहिलो वहालवाला राष्ट्रपति हुनुहुनेछ ।
समाचारदाताले कुन टिमको समर्थन गर्नुहुन्छ भनेर सोध्दा उहाँले स्पष्ट उत्तर दिनुभएन तर पनि कन्सासको टिममा धेरै राम्रा खेलाडी भएको कुरा भने बताउनुभयो । कन्सास टिमका क्वाटरव्याक प्याट्रिक मोहमेस अमेरिकी फुटबलका सर्वाधिक चर्चित र राम्रा खेलाडी मानिनुहुन्छ ।