• १३ साउन २०८१, आइतबार

विद्युत् महसुल भुक्तानीमा समस्या

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, जेठ १४ गते । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–५ का बासिन्दाले एक वर्षभन्दा बढी समयदेखि बिजुली बत्तीको महसुल नियमित तिर्न पाएका छैनन् । विद्युत् उपभोेग गरेको लामो समय बित्दा पनि नेपाल विद्युत् प्राधिकरणले मिटर रिडिङ गर्न कर्मचारी नपठाउँदा नियमित महसुल तिर्नबाट उपभोक्ता वञ्चित हुनुपरेको हो ।

गोलन्जोर गाँउपालिका–५, हिर्दिङका नेत्रविक्रम थापा विश्व बैङ्कको सहयोगमा वडामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार पूरा भई बिजुली बाल्न पाउँदा खुसी भए पनि नियमित महसुल तिर्न समस्या भएको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “२०७७ पुस २० गतेदेखि यो वडामा राष्ट्रिय विद्युत् प्रसारण लाइनको बत्ती बलेको हो ।

यो बीचमा एक पटक मिटर रिडिङ गर्न कर्मचारी आएका थिए, त्यसपछि कर्मचारी आएका छैनन् ।” जरिवानासहित एकै पटक मोटो रकम महसुल बुझाउनु पर्दा उपभोक्तालाई मर्का पर्ने उहाँले बताउनुभयो । अर्का स्थानीय प्रेमबहादुर सुनुवार भन्नुहुन्छ, “सित्तै बाल्न पाए त मिटर रिडिङ गर्न कर्मचारी नआए पनि फरक पर्दैनथ्यो तर कतिबेला जरिवानासहितको महसुलमा जाकिनुपर्ने हो भन्ने ठेगान छैन ।”

गोलन्जोर गाँउपालिका–५ का पाँच सयभन्दा बढी उपभोक्ता अहिले मासिक रूपमा विद्युत् उपभोगको बिल नपाउँदा समस्यामा परेको उहाँको भनाइ छ । विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रका सुपरभाइजर लालबहादुर लामाले के भएको हो भन्ने आफूले बुझेर तुरुन्तै कर्मचारी खटाई काम गराउने बताउनुभयो ।