• १३ साउन २०८१, आइतबार

‘नगरवासीले अनुभूत गर्ने गरी काम गर्छु’

blog

दोलखा समाचारदाता

चरीकोट, जेठ १४ गते । दोलखाको भीमेश्वर नगरपालिकाका नवनिर्वाचित प्रमुख ईश्वरनारायण मानन्धरले अघिल्ला जनप्रतिनिधिले गरेको पाँच वर्षे विकासको अस्तव्यस्ततालाई छिचोलेर नगरवासीलाई अनुभूत हुने गरी काम गर्ने बताउनुभएको छ । 

चुनावी घोषणापत्रमा गरिएका सङ्कल्पभन्दा अझ बढी नगर विकासका काम हुने बताउँदै उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको प्रतिनिधित्व गरी निर्वाचन जिते पनि अब आफू नगरका सबै दल र नगरवासीको प्रमुख भएर काम गर्नेछु । नगरवासीबाट लिँदै आएको कर घटाउँदै करको दायरा बढाउने मेरो पहिलो एजेन्डा हुनेछ । भ्रष्टाचार शून्य बनाउँदै नगरवासीका हितमा काम सञ्चालन गरिनेछ ।” 

नगरमा ठूलाखाले पूर्वाधार तयार भए भनियो तर बजेट अभावले अपूरा र अलपत्र रहेका छन् । यस्ताखाले विकासले सुशासन, पारदर्शिता र जवाफदेहितामा गैरजिम्मेवारीको बढोत्तरी हुन पुगेको छ ।

उहाँले भन्नुभयो, “लोकप्रियताका लागि पूरा गर्न नसकिने योजनामा सङ्कल्प गरिएको छैन । जनताको प्रत्यक्ष हित हुने साना योजना तय गरिएको छ । पूरा नहुने योजना र सपनाका चाङले नगरवासी वाक्कदिक्क भइसकेका छन् ।”

नगर निर्माणमा जनप्रतिनिधि र नगरवासी सँगसँगै रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “नगरमा ठूलाखाले पूर्वाधार तयार भए भनियो तर बजेट अभावले अपूरा र अलपत्र रहेका छन् । यस्ताखाले विकासले सुशासन, पारदर्शिता र जवाफदेहितामा गैरजिम्मेवारीको बढोत्तरी हुन पुगेको छ ।” 

पाँच वर्षमा भएका आर्थिक दुरुपयोग र भ्रष्टाचारको छानबिन गरी सत्यतथ्य नगरवासीसामु ल्याउनेमा आफू प्रतिबद्ध भएको उहाँले बताउनुभयो । यो अवधिमा काम गर्दा नगरवासीलाई धोका नदिने र स्थानीय सरकारले मेरै लागि काम गर्छ, मेरो भलो मेरै स्थानीय सरकारले गर्छ भन्ने अनुभूति दिलाउने गरी काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।