• २२ माघ २०८१, मङ्गलबार

‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’

blog

कर्णाली,  माघ २२ गते ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरूलाई आफैँ बदलिन सुझाव दिनुभएको छ । 

ऋति फाउन्डेसनद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘नीति र शासनमा युवा कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले समाज बदल्ने उपदेश दिन सजिलो भए पनि आफैँ बदलिएर देखाउन जटिल हुने बताउनुभयो । उहाँले युवाहरूलाई सभ्य समाज निर्माणमा योगदान दिन सुझाव दिनुभयो ।

 मुख्यमन्त्री कँडेलले भन्नुभयो, “युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने होइन । यसमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्दछ । राजनीतिप्रति वितृष्णा व्यक्त गर्नुको साटो राजनीतिक दललाई सुधार गर्न युवाहरू लाग्नुपर्दछ ।”

बाहुबल र खानदानका आधारमा राजनीति गर्ने युग समाप्त भएको टिप्पणी गर्दै उहाँले युवाहरूले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा गलत नेतृत्व आफैँ पाखा लाग्ने बताउनुभयो । 

आयोजक संस्था ऋति फाउन्डेसनका अध्यक्ष कमलराज लम्सालले प्रदेश सभा सदस्यहरूलाई सहजीकरण गर्दै राजनीतिमा युवाहरूले उत्प्रेरकको भूमिका निर्वाह गर्ने बताउनुभयो । रासस