तेहरान, फागुन ३० गते । इरानको पर्यटन मन्त्रालयले हाल मध्यपूर्व युद्ध १५ औं दिनमा प्रवेश गरेको उल्लेख गर्दै युद्धका कारण देशभरका कम्तीमा ५६ वटा सङ्ग्रहालय तथा ऐतिहासिक स्थल क्षतिग्रस्त भएको शनिबार जनाएको छ ।
तेहरानमा, अमेरिका-इजरायली आक्रमणले द्वन्द्वको प्रारम्भिक दिनमा युनेस्कोमा सूचीबद्ध गोलेस्तान दरबारलाई क्षति पुगेको स्थानीय मिडियाले जनाएको छ । दरबार परिसर इरानी राजधानीको सबै भन्दा पुरानो स्थल मध्ये एक हो भने परापुर्व कालमा कजार वंशको निवासको रूपमा रहेको थियो । तेहरानमा सबै भन्दा धेरै क्षतिग्रस्त स्मारक रेकर्ड गरिएको जनाइएको छ ।
मध्य इरानी सहर इस्फहानमा रहेको १७ औँ शताब्दीको वास्तुकलाको गहना युद्धका कारण “नघ्स-ए जहाँ स्क्वायर” पनि क्षतिग्रस्त भएको जनाइएको छ । युद्धले बुशहर प्रान्तको सिराफ बन्दरगाहमा, शताब्दीयौँ पुराना भवनको र ऐतिहासिक घर प्रभावित भएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक एजेन्सी युनेस्कोलेसमेत इरान, इजरायल र लेबनानका सयौं ऐतिहासिक स्थल युद्धबाट क्षतिग्रस्त वा खतरामा परेकोमा चिन्तित रहेको एएफपीले बताएको छ । रासस/एएफपी