• २२ माघ २०८१, मङ्गलबार

ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो

blog

युवराज विष्ट  

भोजपुर,  माघ २२ गते ।  औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकतासमेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ । यहाँ निर्माण भएका धातुका सामानहरु देश विदेशमा परिचित छन् । राणाकालीन समयमा नेपालभर आवश्यक पर्ने टक (डोली पैसा) छापिएको ऐतिहासिक बजार हो टक्सार ।

भोजपुर सदरमुकाम नजिकै रहेको टक्सार कुनै समय व्यापारिक केन्द्रको रुपमा स्थापित बजार पनि हो । यस बजारको भूभाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बुढापाकाहरुले बताउने गरेका छन् । १८७२ सालदेखि १८८७ सम्म यहाँ डोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य रहेको स्थानीयवासी किशोरकुमार ताम्राकार बताउनुहुन्छ । यहाँ खानी अड्डा स्थापना गरेर तत्कालीन समयमा पाटनबाट ल्याइएका कालिगडले फलाम र तामाका डोली पैसा बनाउने गरेको उहाँले जानकारी दिनुभयो । अहिले पनि ती पैसाहरु पाउन सकिने उहाँको भनाइ छ । 

यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका (टक डोली) पैसा राणाकालमा प्रचलित थियो । यहाँ टक काट्ने पहिलो कालिगड देवदत्त शाक्य रहेको ताम्राकारले जानकारी दिनुभयो । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति यस स्थानमा भित्र्याएका थिए । “यो स्थान टक अर्थात् पैसा बनिने रुपमा चिनिन्छ,” उहाँले भन्नुभयो, “अहिले पनि यहाँ बनेका टक पाउन सकिन्छ । त्यति मात्र हैन यो स्थान औद्योगिक क्षेत्रको रुपमा समेत परिचित थियो । यहाँका अधिकांश घरमा धातुका सामग्रीहरु निर्माण हुन्थ्यो । तर अहिले यो पेसा पनि लोप हुने अवस्थामा पुगेको छ भने बजार सुनसान बन्दै गएको अवस्था छ ।”

तत्कालीन नेपाल सरकारले १८७२ सालदेखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन गर्न टक्सारमा खानी अड्डा स्थापना गरेको थियो । टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएको ताम्राकार बताउनुहुन्छ । पैसा काटेर बढी  भएको धातु यहाँका कालिगडलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको उहाँको भनाइ छ । 

त्यतिबेला यहाँका हरेक घरमा धातु उद्योग तथा धातुका सामग्री बिक्री हुने गर्दथ्यो  । “यहाँ १८७२ सालमा खानी अड्डा स्थापना गरेर टकमारी गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “यहाँ पूर्वी क्षेत्रबाट खनिज पदार्थ सङ्कलन गरेर टकमारी गरेको पाइन्छ । टक काटेर बढी भएको धातुलाई यहाँका स्थानीयलाई दिएर धातुका सामग्री बनाउने कामको थालनी भएको देखिन्छ । विभिन्न सरकारी अड्डाहरु स्थापना भएपछि यहाँ बस्ती विस्तार भएको पाइन्छ ।”

विसं २०१३ मा राजा महेन्द्रले टक्सारलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको उहाँले जानकारी दिनुभयो । त्यो समयमा यहाँ दुईदेखि ३०० परिवारको बसोबास थियो । त्यतिबेला बजारमा मानिसहरुको चाप धेरै हुने गरेको स्थानीयवासीको भनाइ छ । २००७ सालपछि यहाँ रहेका सरकारी अड्डा भोजपुर बजारमा स्थानान्तरण गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको यहाँका जानकारहरु बताउँछन् । 

टक्सारमा बनेका हस्तकलाका सामग्री भूटान, चीनको तिब्बत, भारतको दार्जलिङ, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको  थियो । यहाँ रहेका हस्तकलाका धातुका सामग्री बन्ने उद्योगहरु पनि बर्सेनि बन्द भइरहेका छन् । यहाँका कालिगडहरुले हातेउद्योगको सहायताले बनाएका काँसका थाल, करुवा, आङ्खोरा, बोकुटालगायत सामग्री अहिले पनि देश–विदेशमा परिचित छन् । 

दशकौँ अघिसम्म दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग अहिले पाँचवटामा समिति भएको स्थानीय कालिगड विमल शाक्यले बताउनुभयो । यी उद्योगहरुले बजारको मागलाई धान्न समस्या रहेको उहाँको भनाइ छ । यसलाई पुस्तान्तरण नगरिएमा पेसा नै सङ्कटमा पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । यो पेसाप्रति मानिसको चासो हराउँदा पछिल्लो समयमा आएर टक्सारको मौलिकतासँगै ऐतिहासिक महत्व मेटिने अवस्था आएको उहाँको भनाइ छ । “टक्सार धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बजार हो”, उहाँले भन्नुभयो, “तर यो बजार सुनसान बन्दै गएको अवस्था छ । विगतमा दर्जनौँको सङ्ख्यामा रहेका धातु उद्योग पाँचवटामा सीमित छन् । यहाँ उत्पादन भएका धातुका सामग्रीको धैरै माग हुन्छ तर हामीले बजारको मागलाई धान्न सकेका छैनौँ ।”

एक समयमा ‘सानो पाटन’ को नामले समेत परिचित यो ठाउँमा रहेका कलात्मक घरहरु पनि भत्किँदै गएका छन् । यहाँको मौलिकता बोकेका धातु उद्योगहरु धमाधम बन्द भइरहेको स्थानीयवासी सुर्जबहादुर उदासले बताउनुभयो । बसाइँसराइका कारण टक्सारको अतिस्व मेटिँदै गएको उहाँको भनाइ छ । 

कोइलालगायत कच्चा सामग्रीको अभावका कारण पनि धातु उद्योग सङ्कटमा परेको उहाँले बताउनुभयो । “टक्सार पूर्व क्षेत्रको एक ऐतिहासिक बजार हो”, उहाँले भन्नुभयो, “तर यो बजारको ऐतिहासिकतासँगै मौलिकता पनि हराउँदै गएको छ ।” मुख्य रुपमा बसाइँसराइका कारण यो बजार खण्डहर बन्दै गएको अवस्था छ । अधिकांश कलात्मक घर प्रायः खाली  छन् भने कतिपय घर भत्किसकेका छन् । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएर बजारको स्वरुप बिग्रँदै गएको उहाँको भनाइ छ ।  

टक्सारका पम्परागत धातु उद्योग बन्द हुँदा भोजपुर जिल्लाकै चिनारी धमिलिँदै बन्दै गएको उदासले बताउनुभयो । घर अलपत्र छाडेर यहाँका मानिसहरु काठमाडौँ, धरान विराटनगरलगायत ठाउँमा बस्दै आएको उहाँको भनाइ छ । यहाँका करिब ५० देखि ६० प्रतिशत मानिस घर छाडेर अन्यत्र बसाइँ गइसकेको उदासले बताउनुभयो । “टक्सार बजार देशकै पहिचान बोकेको ऐतिहासिक बजार हो,” उदासले भन्नुभयो, “मिनी पाटन उपनामले चिनिएको यो बजार बसाइँसराइको कारण उजाड बनेको छ । कलात्मक शैलीमा निर्माण गरिएका मठमन्दिर पनि जीर्ण बनेका छन् । बजार सुनसान छ ।”

राणाहरूले टक्सारबाट डोली पैसा चलाएको समयमा नै यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइएको स्थानीय बुढापाकाहरु बताउँछन् । तत्कालीन समयमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर टकसँगै विभिन्न सामग्री निर्माण गरिन्थ्यो । इतिहास अनुसार १६औँ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ । माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै माल, अड्डा अदालतहरु पनि खोलिएको स्थानीय जानकारहरुको भनाइ छ ।

अहिले आएर टक्सारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजार सुनसान बनेकोे स्थानीयवासी रोशन शाक्यले बताउनुभयो । पिता पुर्खाले गरी ल्याएको पेसाको निरन्तरतास्वरुप आफूले अहिले धातुका सामग्री बनाउने काम गरिरहेको उहाँको भनाइ छ । त्यो समयका यहाँ बसोबास गर्ने हुनेखाने वर्ग अन्यत्र गएपछि बजारको थप विकास तथा विस्तारमा बाधा पुगेको उहाँको भनाइ छ ।

बसाइँ सरेर गएका मानिसहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका त्यस्ता घरहरु जीर्ण बनेको भोजपुर नगरपालिका–१२ टक्सारका वडाध्यक्ष देवी कार्कीले बताउनुभयो । यहाँको ऐतिहासिकतालाई बचाइराख्न वडाका तर्फबाट आवश्यक काम गरिरहेको वडाध्यक्ष कार्कीको भनाइ छ । मुख्य रुपमा यहाँका धातुका सामग्री बनाउने पेसालाई संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । विगतमा धेरैको सङ्ख्यामा रहेको धातु उद्योग अहिले लोप हुँदै गएको वडाध्यक्ष कार्कीले भनाइ छ । “यहाँ परम्परागत रुपमा गरिँदै आएको धातुका सामग्री बनाउने उद्योगहरु बन्द हुँदै गएका छन्,” वडाध्यक्ष कार्कीले भन्नुभयो, “अहिले थोरैको सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा छन् । मुख्य रुपमा बसाइँसराइका कारण टक्सार बजारको विकास हुन सकेको छैन ।”

यहाँको घर छाडेर काठमाडौँ विराटनगरलगायत सहरमा बस्नेहरुले हालसम्म पनि घरजग्गा अलपत्र छाडिदिँदा बस्ती विस्तारमा समस्या रहको उहाँको भनाइ छ । “धेरैले घर छाडेर हिँडेका छन्,” उहाँले भन्नुभयो, “ती छाडिएका घरहरु भत्किन थालेको अवस्था छ । नयाँ बस्ती विस्तार हुन सकेको छैन ।” यहाँको सौन्दर्यलाई ध्यानमा राख्दै भावी दिनका कामलाई अघि बढाउने उहाँले बताउनुभयो । टक्सारमा शाक्यमुनि बौद्ध विहार छ । यो बौद्ध विहार १९९३ सालमा स्थापना गरिएको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन । टक्सार बजार भोजपुर सदरमुकामबाट करिब दुई किलोमिटरको दूरीमा छ । 

यहाँ नजिकै टक्सार विमानस्थल छ । टक्सार बजारका धातु उद्योगहरुलाई ब्युँताएर यस बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीहरुलाई अभिप्रेरित गर्नुपर्ने खाँचो रहेको स्थानीय जानकारहरु बताउँछन् । यहाँको मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी देखिएको छ । अहिले बजारको मागलाई यहाँका उद्योगहरुले धान्न सकिरहेका छैनन् । बजारमा जनघनत्व घटेसँगै विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ । रासस