• २२ माघ २०८१, मङ्गलबार

बाँसगढी दरबार क्षेत्रमा राखियो दुई सय ५१ केजीको शालिग्राम

blog

दरबार क्षेत्रमा स्थापना गरिएको दुई सय ५१ केजीको शालिग्राम । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल
तुलसीपुर, माघ २२ गते ।
छिल्लीकोटे राजाको हिउँदकालीन दरबार क्षेत्र बाँसगढी कालिका मालिका मन्दिर परिसरमा शालिग्राम राखिएको छ । नेपाल एकीकरण हुनुपूर्व दाङ जिल्लाको बाँसगढी दरबार क्षेत्र छिल्लीकोटे राजाको हिउँदकालीन बसोबास क्षेत्रका रूपमा रहेको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ निवासी ऋषिराज शर्माले दुई सय ५१ केजीको शालिग्राम मन्दिर क्षेत्रमा स्थापना गर्नुभएको हो । कालिका मालिका मन्दिर व्यवस्थापन समितिका सचिव सागर रेग्मीले धार्मिक ग्रन्थमा शालिकग्रामलाई भगवान् विष्णुको स्वरुपकारूपमा लिइने र राजालाई भगवान् विष्णुकै प्रतीकका रूपमा लिइने भएकाले राजाको दरबार क्षेत्रमा शालिग्राम राखिएको बताउनुभयो ।

स्थानीय ऋषिराज शर्माको सहयोगमा मुस्ताङ जिल्लाको कागबेनीबाट शालिग्राम शिला मन्दिरमा ल्याइएको बताउनुभयो । सचिव रेग्मीका अनुसार शिला दाङ जिल्लामा ल्याउनका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, जिल्ला प्रशासन कार्यालय दाङबाट सिफारिस प्राप्त भई जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट अनुमति प्राप्त भएपछि ल्याइएको हो ।

शालिग्रामको मङ्गलबार मन्दिर परिसरमा प्राणप्रतिष्ठा गरिएको हो । शालिग्राम मन्दिर क्षेत्रमा स्थापना गरिएसँगै धार्मिक पर्यटकहरू बढ्ने अपेक्षा लिइएको स्थानीय दीपक पौडेलले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले बाँसगढी राजदरबारसँग किंवदन्ती जोडिएको ज्याङ्टे जरुवा संरक्षण गरिएको बताउनुभयो । उहाँले दरबार क्षेत्रमा रहेका मठमन्दिरको संरक्षणका काम भइरहेको बताउनुभयो ।