• २१ माघ २०८१, सोमबार

राजनीतिक स्थिरताको जनचाहनाअनुसारनै वर्तमान सत्तागठबन्धन : उपप्रधानमन्त्री सिंह

blog

ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह । तस्बिर : उपप्रमको सचिवालय

ढोरपाटन (बागलुङ) २१ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । 

सोमबार बागलुङको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र अरू दललाई समेत मिलाएर बनेको सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । 

उहाँले वर्तमान सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन तर्फ लागेको भन्दै अहिलेको सत्तागठबन्धन स्थिर सरकारको जनचाहनाअनुसारनै बनेको दाबी गर्नुभयो । राजनीतिक अस्थितरताका कारण विकासले गति लिन नसकेको भन्दै उपप्रधानमन्त्री सिंहले लामो समयदेखि रोकिएका कामहरू अहिले सुचारु भएको बताउनुभयो । सरकारका विषयमा विभिन्न व्यक्तिहरूले नकारात्मक टीकाटिप्पणी गरे पनि अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म चल्ने प्रष्ट पार्नुभयो । 

त्यस्तै फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको बताउनुभयो । नयाँ सहर आयोजनाको कामलाई तीव्रता दिन र आवश्यक बजेट व्यवस्थापनमा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ । 

स्थानीय सरकार जनताको नजिकको सरकार हो ।  तीनै तहका सरकार जनताको समस्या समाधान गरी समृद्ध मुलुक निर्माणका लागि बनेको हो । उहाँले भन्नुभयो, ‘सरकारको स्थायित्व नहुँदा जनतामा निराशा थियो । नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दल मिलेर सरकार बनाएपछि आशा जगाउने काम गरेका छौँ ।’’

सिंहले प्राप्त उपलब्धिको रक्षा गर्न र विकासको आकाङ्क्षा पूरा गर्न सरकार काम गरिरहेको बताउनुभयो ।